• ७ वैशाख २०८१, शुक्रबार

सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लोसपा

blog

फाइल तस्बिर

काठमाडौं, चैत ९ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दललाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दललाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताउनुभएको हो । 

उहाँले निर्वाचन अघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताउनुभयो । उहाँले गठबन्धनलाई पाँच वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झकझकाउने निर्णय बैठकले गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘अहिलेको समसामयिक परिस्थिति र राजनीतिबारे हाम्रो छलफल भयो । साथै सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ । हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ । गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ । यो गठबन्धनलाई पाँच वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झकझकाउने निर्णय भएको छ । गठबन्धनमा भएका पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ । सङ्गठन विस्तार र पार्टीलाई नयाँ ढङ्गबाट अघि बढ्ने निर्णय भएको छ । उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ । बारा–२ मा हाम्रो उम्मेदवार हुनु स्वाभाविक हो ।’’

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको सङ्गठन विस्तार गर्ने र पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउन निर्णय गरेको बताउनुभयो । उहाँले बारा–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको बताउनुभयो।