• १ जेठ २०८१, मङ्गलबार

महेन्द्र बहुमुखी क्याम्पसमा नेविसङ्घको प्यानल विजयी

blog

स्ववियु सभापतिमा विजयी नेविसङ्घ मनोज डिसीलगायतका प्रतिनिधिहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, चैत ९ गते । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसङ्घको प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी सङ्घका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुनुभएको हो । 

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतपरिणामअनुसार विजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा विजयी हुनुभएको छ । पराजित महराले ६ सय २० मत प्राप्त गर्नुभयो ।   

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले तालमेल गरेका थिए । त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी (खुमन) ले एक सय २४ मत,  राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैटौँ (क्रान्तिकारी) का सेवक भट्टराईले ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कुलवीर चौधरीले जानकारी दिनुभयो । 

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसङ्घका वसन्त भण्डारी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरी पराजित हुनुभएको छ । कोषाध्यक्षमा पनि नेविसङ्घकै ममता केसी ९ सय ९६ मत प्राप्त गरी बवियी हुनुभएको छ । अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरी पराजित हुनुभयो । 

सदस्यमा नेविसङ्घका वसन्त कँडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिषकुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सबिन पोख्रेल विजयी हुनुभएको छ । चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।