• १२ मंसिर २०८१, बुधबार

तनहुँ जलविद्युत् समयमै सम्पन्न गर्न निर्देशन

blog

तनहुँ समाचारदाता

तनहुँ, चैत ९ गते  । एसियाली विकास बैङ्क (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले जलाशययुक्त तनहुँ जलविद्युत्् आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । 

तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना र १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको सोमबार र मङ्गलबार स्थलगत निरीक्षण गरी सो निर्देशन दिएको हो । 

एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुस्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले सोमबार र मङ्गलबार आयोजनाको बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायतका संरचनाको निर्माण कार्यको अनुगमन गरेको हो । टोलीले आयोजनाको बाँध तथा हेडवक्र्स, विद्युत्गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरण र दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदातासँग छलफल गरी निर्माण प्रगति, देखिएका समस्यालगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको थियो ।

आयोजनामा सहुलियतपूर्ण ऋण प्रवाह गरेको एडीबीको नेपाल आवासीय नियोग निर्देशक कुस्वाले प्याकेज–१ अन्तर्गतको बाँध तथा हेडवक्र्सको निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकाले उपकरण तथा जनशक्ति थप गर्न आवश्यक रहेको बताउनुभयो । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना सम्पन्न निर्धारित तालिकाअनुरूप पूरा गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । “बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ । यसका लागि दक्ष जनशक्ति र उपकण थप गरी कामलाई तीव्रताका साथ अगाडि बढाउनुपर्छ,” सहयोग र सहजीकरणमा प्राधिकरण सहयोग गर्न तयार रहेको जानकारी गराउँदै घिसिङले भन्नुभयो । 

घिसिङले तनहुँ जलविद्युत् आयोजना रणनीतिक महत्वको जलाशययुक्त आयोजना भएकाले निर्माणमा स्रोतसाधन, स्थानीय समस्यालगायतले ढिलाइ गर्न नहुने र तोकिएकै समयमा पूरा गर्नुपर्ने बताउनुभयो । 

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले तनहुँ जलविद्युत् आयोजना र तल्लो सेती जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले तल्लो सेती जलविद्युत् आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बेहोरिएको समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रालि) नेपाल जेभीसँगको ठेक्का सम्झौता २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत्गृह खनिरहेको छ । सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ तयार भएकोे छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य जारी छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।