चरीकोट समाचारदाता
चरीकोट, चैत ९ गते । दोलखाको तामाकोशी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ। सातवटा वडा रहेका पालिकामा एउटा वडामा बर्थिङ सेन्टरसहितको अस्पतालसमेत निर्माण भएको छ।
घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि वडा–वडामा विविध सेवासुविधासहितको बर्थिङ सेन्टर स्थापना गरेको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो।
गर्भवती महिला र शिशुको मृत्यु दर कम गर्न र गर्भवतीलाई पोषणयुक्त खानेकुराका लागि पालिकाले दुई हजार रुपियाँ दिने गरेको उहाँले बताउनुभयो। गाउँपालिकाको स्वास्थ्यचौकीमा गर्भवती महिलाले चार पटक जाँच गराएमा यातायात खर्चबापत थप आठ सय रुपियाँ प्रदान गरिने उहाँको भनाइ छ।
बर्थिङ सेन्टरमा तालिमप्राप्त दक्ष प्रसूतिकर्मी, सुत्केरी गराउने साधन, औषधिसहितको सुविधा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
गर्भवतीका लागि पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवाका लागि दुईवटा एम्बुलेन्स व्यवस्था गरिएको छ। काठमाडौँ वा अन्यत्र लानु परेमा एम्बुलेन्स या अन्य गाडीको भाडा गाउँपालिकाले दिने मिश्रले बताउनुभयो।