• ७ वैशाख २०८१, शुक्रबार

पानीको संरक्षण गरौँ : राष्ट्रपति

blog

काठमाडौँ, चैत ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।

विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी सङ्कलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ ।”

उहाँले बढ्दो सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा भएको वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण जमिनमुनिको पानीको सतह निरन्तर घट्नेक्रम जारी रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभएको छ, “अव्यवस्थित बस्ती र बढ्दो औधोगिकीकरणका कारणले जमिनमुनिको पानीसमेत प्रदूषित हुँदै गएको छ । जसका कारणले प्राणी जगत्का लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ ।” उहाँले पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पु-याउन प्रेरणा मिलोस् भन्ने विश्व पानी दिवस २०२३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ ।