• १३ मंसिर २०८१, बिहिबार

सडक निर्माणमा साठी करोड बजेट स्वीकृत

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत ७ गते । रामेछाप जिल्लाको महत्वपूर्ण तीनवटा सडक कालोपत्रे हुने भएका छन्। जिल्लाकै रणनीतिक रूपमै महत्वपूर्ण मानिएका सडक विस्तार तथा कालोपत्रेका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत ६० करोड रुपियाँ बजेट स्वीकृत गरेको छ। 

प्रदेश सरकारले लिखु तामाकोशी गाउँपालिकाको हलेदे–धोबी, सिरिसे–ढाडे सडक, लिखु कोरिडोर कोलान्जोर–साँघुटार सडक र गोकुलगङ्गा गाउँपालिकाको रस्नालु–ठोसे–गर्जाङ सडक विस्तार तथा कालोपत्रे गर्न २०/२० करोड रुपियाँ बजेट सुनिश्चित गरेको हो। बजेटको अभावमा वर्षौंदेखि अलपत्र बनेका सडक विस्तार तथा कालोपत्रेको काम बजेटको सुनिश्चिततासँगै सुरु हुने भएका छन्।

प्रदेश सरकारले लिखु तामाकोशी गाउँपालिकाको हलेदे–धोबी, सिरिसे–ढाडे सडक विस्तार तथा कालोपत्रेका लागि २० करोड रुपियाँ बजेट सुनिश्चित गरेको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष कैलाश दर्लामीमगरले बताउनुभयो। 

उहाँले भन्नुभयो, “ट्र्याक खनिएको २५ वर्षसम्म यो सडक विस्तार तथा कालोपत्रेका लागि राज्यको ध्यान गएन, जसका कारण जोखिम मोलेर सर्वसाधारण यात्रा गर्न बाध्य बने, गत फागुन ३० गते प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बहुवर्षीय योजनाअन्तर्गत २० करोड रुपियाँ बजेट सुनिश्चित भएको छ।” 

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच करोड रुपियाँबाट यो सडकको हलेदेदेखि एक हजार आठ सय मिटर कालोपत्रे हुने र प्रदेशबाट सुनिश्चित भएको २० करोड रुपियाँ बजेटबाट विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिएको साढे छ किलोमिटर सडक विस्तार तथा कालोपत्रे गरिने उहाँको भनाइ छ। 

रामेछाप जिल्लाको निर्वाचन क्षेत्र (क)को विकासका लागि मेरुदण्डका रूपमा रहेका सडक विकासलाई प्राथमिकतामा राखेर प्रदेशबाट बजेट सुनिश्चित गरिएको रामेछाप प्रदेश (क)का प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले बताउनुभयो। 

“जिल्लाको निर्वाचन क्षेत्र (क) विकासका लागि हलेदे–धोबी, सिरिसे–ढाडे सडक, लिखु कोरिडोर कोलान्जोर–साँघुटार सडक र रस्नालु–ठोसे–गर्जाङ सडक कालोपत्रे गर्नु अत्यावश्यक छ,” उहाँले भन्नुभयो, “अन्य क्षेत्रभन्दा यो सडकको विस्तार तथा कालोपत्रेलाई पहिलो प्राथमिकतामा राखेर बहुवर्षीय योजनाअनुसार बजेट सुनिश्चित गरिएको छ।” यी सडकको स्तरोन्नति एवं कालोपत्रे गर्ने काम आवश्यक प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो सुरु गरिने र आगामी वर्षमा पनि प्राथमिकतामा राखेर सडक कालोपत्रेको काम पूरा गरिने प्रदेश सभा सदस्य श्रेष्ठको भनाइ छ।