धादिङ समाचारदाता
धादिङ, चैत ७ गते । कुनै पनि आयोजनाको शिलान्यास जहाँ गरियो, संरचना निर्माण त्यहीँ हुनुपर्ने हो तर खानेपानी तथा सरसफाइ आयोजनाले भने एक ठाउँमा शिलान्यास गरेर अर्कैतिर पानी ट्याङ्की निर्माण गर्न थालेको छ, त्यो पनि ऐतिहासिक सम्पदा मिचेर।
गत भदौ १३ गते नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले नगरपालिकाले हाल पार्किङको रूपमा प्रयोग गरिरहेको जमिनमा आयोजनाको शिलान्यास गर्नुभएको थियो तर अहिले त्यही आयोजनाको ट्याङ्की निर्माण जिल्ला प्रशासन कार्यालय नजिकै रहेको भानुपार्कमा सुरु गरिएको छ।
पार्कमा भानुको सालिक छ। विभिन्न समयमा विभिन्न व्यक्तिले वृक्षरोपण गरेका छन्। शौचालय र बस्नका लागि गोलघरसहितका संरचना पनि पार्कभित्र निर्माण गरिएका छन्। २०४८ सालदेखि धादिङबेँसीमा स्थानीय बासिन्दा साँझ बिहान बजारको भीडभाड छोडेर स्वच्छ र शान्त वातावरणमा बस्न त्यही पार्क पुग्ने गरेका थिए। सरकारी काममा आइपुगेकाको शीतल ताप्ने ठाउँ पनि त्यही पार्क थियो तर अहिले रोपिएका बोटबिरुवा त मासिएके छन् नै भानुको पाउमै खानेपानी ट्याङ्कीका लागि ठूलो खाडल खनिएको छ।
भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा. नवीनबन्धु पहाडीका अनुसार ऐतिहासिक सम्पदाको अतिक्रमण भएको छ। सार्वजनिक सम्पत्ति र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने स्थानीय सरकारले नै विनाशकारी काम गरेको देख्दा अचम्म लाग्न थालेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङमा सेवा लिन आउने सेवाग्राहीका लागि मनोरञ्जन र समय बिताउने ठाउँको रूपमा सुविधा सम्पन्न पार्क निर्माण गर्न पहल भइरहेका बेला नीलकण्ठ नगरपालिकाले पार्क नै मासेर ट्याङ्की निर्माण गर्नु खेदजनक कार्य भएको नागरिक समाजका प्रतिनिधिले बताएका छन्। २०४८ सालदेखि भानुपार्कको रूपमा प्रयोग हुँदै आएको सभ्यता नाश गर्नु गलत कार्य भएकोले तत्काल काम रोक्न जिल्ला प्रशासन कार्यालयसँग नागरिक समाजका अगुवाहरूले माग गरेका छन्।
पार्क मिचेर पानी ट्याङ्की निर्माण गरेको विषयमा नगरप्रमुख ढुङ्गानाको ध्यानाकर्षण गराए पनि काम नरोकिएको पहाडीको भनाइ छ। साहित्यिक जमघट, मनोरञ्जन र थकाइ मेटाउने चौतारीको रूपमा प्रयोग हुँदै आएको पार्कलाई अझ व्यवस्थित र विकास गर्नुको सट्टा नाश गर्ने कार्य भएकोले कुनै पनि हालतमा पार्कभित्र ट्याङ्की निर्माण गर्न नहुने नागरिक अगुवा नवराज छत्कुलीको भनाइ छ।
धादिङ साहित्य समाज, भानु प्रतिष्ठान धादिङ र नागरिक समाजका प्रतिनिधिले भानुपार्कको अतिक्रमण गरेर भइरहेको संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन्।
छत्कुली भन्नुहुन्छ, “नागरिकका लागि पिउने पानी त आवश्यक हो तर त्यसका लागि अन्यत्र स्थान हुँदाहुँदै पनि पार्क नै छनोट गर्नु ठीक होइन।”