• १२ असार २०८१, बुधबार

औद्योगिक ग्राम बनाउने योजना अलपत्र

blog

सुर्खेतको लेकबेँसी नगरपालिकामा पर्ने रानीचौतारी र खाँडदेवी सामुदायिक वनको जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि स्थलगत अध्ययनमा प्राविधिक टोली । तस्बिर : नवीनकुमार सुवेदी

नवीनकुमार सुवेदी

सुर्खेत, चैत ७ गते । कर्णालीका १० जिल्लामा औद्योगिक ग्राम बनाउने योजना अलपत्र परेको छ । आव २०७६÷७७ मा सङ्घीय सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । 

स्थानीय तहले औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएपछि भौतिक संरचना निर्माण गर्ने गरी रकम व्यवस्थापन गर्ने सङ्घीय सरकारले जनाइएको थियो । छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटी स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गर्ने सङ्घीय सरकारको योजना हो । 

सुर्खेत, कालीकोट र जाजरकोट गरी तीन जिल्लाका छवटा स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्ने भनेर घोषणा गरेका छन् तर लामो समय भइसक्दा पनि कुनै काम अगाडि बढ्न सकेको छैन । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ मा २० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्ने भनेर औपचारिक कार्यक्रम गरी २०७७ कात्तिक २४ गते नै घोषणा गरिएको थियो तर दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि यहाँ जग्गा प्राप्तिको टुङ्गो सकेको छैन । पञ्चपुरी नगरपालिकाको वडा नं. ६ र ८ मा पाँच सय रोपनी जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने भनेर २०७६ असोज ६ गते घोषणा भएको थियो । तीन वर्ष बितिसक्दा पनि जग्गा प्राप्तिमै अड्किएको छ । 

सुर्खेतकै चौकुने गाउँपालिका–५ मा १० बिघा जमिनमा २०७७ कात्तिक २४ गते औद्योगिक ग्राम स्थापनाको घोषणा भएको थियो, यहाँ पनि जग्गा प्राप्ति हुन सकेको छैन । त्यस्तै सिम्ता गाउँपालिकाको वडा नं. ६ मा झन्डै १० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने भन्दै २०७७ माघ १५ गते घोषणा गरिएको थियो । यो घोषणा गरेको दुई वर्ष पुग्यो तर पनि प्रगति भने शून्य छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–१० मा ४० रोपनी जग्गामा २०७८ साल पुस ३० गते औद्योगिक ग्राम स्थापना गर्ने भनेर घोषणा भए पनि कार्यान्वयन हुन सकेको छैन । जाजरकोटको शिवालय गाउँपालिका–४ मा ४८ रोपनी जग्गामा ग्राम स्थापना गर्ने भनिएको थियो । हालसम्म यो घोषणा कागजमै सीमित छ । 

यी छवटा प्रस्तावित औद्योगिक ग्राममध्ये सिम्ता, शुभकालिका र शिवालयमा मात्रै जग्गा प्राप्ति भएको छ भने बाँकी सुर्खेतका भेरीगङ्गा, पञ्चपुरी र चौकुनेमा औद्योगिक ग्रामका नाममा हालसम्म पनि जग्गा आइसकेको छैन ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उद्योग शाखा प्रमुख तुलसीप्रसाद आचार्यका अनुसार सङ्घीय सरकारबाट घोषणा भएका औद्योगिक ग्रामलाई प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने भएकाले हरेक वर्ष फ्रिज हुने वा अन्य शीर्षकबाट रकमान्तर हुने गरेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि यो शीर्षकमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ तर हालसम्म कुनै पनि ग्रामबाट बजेट माग गर्ने वा संरचना निर्माण गर्न माग नभएको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारबाट जाने बजेट संरचना निर्माणमा लगानी हुने बताउनुभयो ।  

औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा सात बिघा जमिन हुनुपर्ने औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ ।