• ८ वैशाख २०८१, शनिबार

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध छु’

blog

सभामुख घिमिरेसँग छलफलपछि पत्रकार महासंघका पदाधिकारीहरु । तस्बिर : सभामुखको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ६ गते । सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँग छलफल गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धित विधेयकहरूको अवस्थालगायतका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । 

भेटमा महासङ्घको प्रतिनिधिमण्डलले चैत ३ गते महासङ्घसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेकोप्रति ध्यानाकर्षण गराउनुभएको थियो । सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताउनुभयो । 

उहाँले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद् र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा आफू सदैव चनाखो रहेको सभामुख घिमिरेले जोड दिनुभएको उहाँका प्रेस संयोजक शेखर अधिकारीले बताउनुभयो । 

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद् सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा महासङ्घसहित सरोकारवालासँग छलफल गर्ने बताउनुभयो । भेटमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालको उपस्थिति थियो ।