• ६ जेठ २०८१, आइतबार

रैथाने बाली संरक्षणमा नगरपालिका

blog

कमल शर्मा

दैलेख, चैत ६ गते । दैलेख जिल्लाको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान सञ्चालन गरेको छ । कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णयअनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । 

नारायण नगरपालिकाको कृषि शाखाले रैथाने बालीको संरक्षण अभियानअन्तर्गत सार्वजनिक क्षेत्रमा खाद्य परिकार प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो । 

कृषि शाखा प्रमुख खेमराज शर्माले रैथाने बाली संरक्षणका लागि नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले रैथाने बाली संरक्षण गर्न परिकार बनाएर प्रदर्शन गर्ने र कृषकलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले रैथाने बाली फापर, कागुनो, धान, कोदो, जौ, उवालगायतका बालीबाट बनेका परिकार प्रदर्शन गरिएको जानकारी दिनुभयो । 

नगरपालिकाका प्रमुख लोमन शर्माले रैथाने बाली संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय खेती नगर्नेको सङ्ख्या बढ्दै गएको बताउँदै कृषि पेसाप्रति आकर्षित गर्न प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो । रैथाने बालीलाई कम जमिन र लगानीमा गर्न सकिने भएकाले स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूलित बालीका रूपमा पनि लगाउन सकिने नगरप्रमुख शर्माले बताउनुभयो । त्यसको बजारीकरणको जिम्मेवारी नगरपालिकाले लिने उहाँले जानकारी दिनुभयो । 

नारायण नगरपालिका–२ का गणेशबहादुर थापाले संरक्षण अभियान भनेर प्रदर्शन गरेर मात्र हुँदैन किसानलाई त्यहीअनुसारको बीउ र तालिम दिनुपर्ने बताउनुभयो ।