• ८ वैशाख २०८१, शनिबार

डोटी क्याम्पसमा मतपेटिका तोडफोड

blog

केशवचन्द्र महरा

दिपायल, चैत ५ गते । डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा मतपेटिका तोडफोड गरिएपछि निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।

फर्जी मत खसालेको भन्दै अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान केन्द्रको झ्यालढोका तोडफोड गरेर मतपेटिका तोडफोड गरेका छन् । सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा उच्छृङ्खल तत्त्वहरू मतदान केन्द्रमा प्रवेश गरेर मतपेटिका लगायतका निर्वाचन सामग्री तोडफोड गरेका कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कलेलले बताउनुभयो । 

नेपाल विद्यार्थी सङ्घले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेको छ । “नेविसङ्घसँग परामर्श नै नगरेर एकलौटी रूपमा निर्वाचन स्थगित गरिएको छ”, नेविसङ्घ नगर सभापति राम कठायतले भने, “तत्काल मतदान सुचारु गरिएन भने हामी प्रशासन घेराउ गर्छौँ ।“

नेपाल विद्यार्थी सङ्घको जित सुनिश्चित देखेपछि मतदान स्थलमा तोडफोड भएको नेविसङ्घको आरोप छ । सुरक्षाकर्मीले समेत निर्वाचन केन्द्रको सुरक्षामा लापरबाही गरेको विद्यार्थीको आरोप छ ।