काठमाडौं, चैत ५ गते। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद वीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सांसद शर्मा बेलायत-नेपाल सर्वदलीय सांसद समूहको सभापति हुनुहुन्छ।
सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायतको सेना र ब्रिटिस गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राख्नुभएको उहाँका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो। उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताउनुभयो।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मूलकबाट स्तरोन्नति हुँदै गरेको प्रसङ्गमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गर्नुभयो।
जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ। यसमा बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ।” उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा चासो राख्नुभयो।
भेटका क्रममा बेलायती सांसद वीरेन्द्र शर्माले ब्रिटिस गोर्खाको योगदान र भूमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानता विषयमा आवश्यक आवाज उठाइरहेको बताउनुभएको थियो।
बेलायतले असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र आगामी तीन महिनामा यस विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता गर्नुभयो।
उहाँले अति कम मुलुकबाट स्तरोन्नति भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराउनुभएको थियो। रासस