हिमाली देवता शिव, शङ्करसित सम्बन्धित शास्त्र, सिद्धान्त, विचार, व्याख्या, विश्लेषण तथा चिन्तन प्रवाहलाई शैव मत भनिन्छ । खासगरी यस चिन्तन प्रवाहमा धर्म र दर्शन दुई धार रहेका छन्, जसलाई शैवधर्म र शैवदर्शन भन्ने गरिएको पाइन्छ । यीमध्ये शैवदर्शनधारा प्राचीन र शैवधर्मधारा त्योभन्दा केही अर्वाचीन मानिन्छन् । हाल विद्यमान शैव धर्म–दर्शन धारणाबारे मनन गर्दा शिवतत्त्वलाई आधिदैविक, आध्यात्मिक र आधिभौतिक गरी तीनवटा पक्षबाट अवलोकन गर्नुपर्ने देखिन्छ । यिनमा आधिदैविक स्वरूप शैवधर्म अन्तर्गत रहेको छ, जसको व्याख्या पुराण, किंवदन्ती, परम्परा तथा मिथकहरूमा भेटिन्छन् । तिनले शिवलाई सृष्टि, स्थिति, प्रलयका मूल आधार मानेका मात्र छैनन् जप, पूजा, पाठ तथा यज्ञअनुष्ठानका माध्यमबाट सदा खुसी र सन्तुष्ट राख्ने प्रयास गर्नुपर्छ भनेका पनि छन् । शैवदर्शनले भने आध्यात्मिक र आधिभौतिक दुवै रूपमा स्वीकार गरेको देखिन्छ । आध्यात्मिक दृष्टिले शिव परम चैतन्य सत्ता हुन् । यसको व्याख्या वेद तथा उपनिषद् आदि ग्रन्थले गरेका छन् । तिनका अनुसार सृष्टि, स्थिति, प्रलयका कारकतìव त शिव नै हुन् तर उनी कुनै परोक्ष शक्ति (देवता विशेष)का रूपमा नभई प्राकृतिक शक्ति, सत्ता र तìवका रूपमा रहेका छन् । (ऋग्वेदीय पुरुष सूक्त) जहाँसम्म आधिभौतिक स्वरूपको कुरा छ यसमा भने उनी न कुनै ईश्वर हुन् न अदृष्ट शक्ति, सत्ता वा तìवकै रूपमा देखिएका छन् । अपितु उनी त्यस्ता समाज सुधारक व्यक्तित्व हुन्, जसले आवश्यकताअनुसार गणनायक, गणपति आदि अनेक रूप धारण गरी सामाजिक हित, समुन्नति, सङ्गति, सुव्यवस्था, शान्ति, सदाचार जस्ता यावत् सकारात्मक पक्षका नेतृत्व गरेका छन् । उनले प्रागैतिहासिक कालदेखि नै हिमाली क्षेत्रलाई अगुवाइ गर्दै आएका मात्र छैनन् ज्ञान र विज्ञानले सुसज्जित गर्दै आएका पनि छन् । (विष्णुप्रभात, नेपाली दर्शन)
शैवदर्शन विश्वकै प्राचीनतम दर्शनमध्येको दर्शन हो । विद्वान्हरूले तन्त्रशास्त्रअन्तर्गत राखेका छन् यस दर्शनलाई । तन्त्रशास्त्र हाल बोक्सी, धामी, झाँक्री, जादू, टुनामुना, झारफुक तथा वशीकरणको अर्थमा रूढ भएको छ तर वास्तविकता त्यो होइन । पाणिनीय व्याकरणका अनुसार विस्तार अर्थमा रहेको तनु धातुमा ष्ट्रन् प्रत्यय लागेर तन्त्र शब्द बनेको छ, जसको अर्थ हुन्छ विस्तार । जुन शास्त्रले ज्ञान, बुद्धि, विवेक, साहित्य, कला, सङ्गीत, मन, विचार आदि समग्र जीवनदर्शनको विस्तार गरेको हुन्छ त्यही नै तन्त्र हो । शैवागम यस दर्शनको मूल आधार हो । यसअन्तर्गत पाशुपत, शैव, कालामुख र कापालिक आदि सिद्धान्त तथा अभिमत पर्छन् । तन्त्रशास्त्रले शिव र शक्तिलाई सोलोडोलो एउटै डालोमा राखेर चिनाउन खोजेको छ । समग्र विश्व ब्रह्माण्डलाई अर्धनारीश्वरकै प्रतिविम्ब हुन् र मान्नुपर्छ भन्ने यसको आशय हो । हिमाली क्षेत्रका प्रकृति पूजक बोन विचार तथा संस्कृति, कार्य (जीव तथा जगत), कारण (जीवन र जगत्को सञ्चालक पति वा मालिक), साधन (ईश्वर प्राप्तिको साधन क्रियात्मक र क्रिया निवृत्त–भक्ति), विधि (पति वा मालिकलाई सन्तुष्ट राख्न अपनाउनुपर्ने तरिका) र दुखान्त (मोक्ष) गरी पञ्चपदार्थ युक्त पाशुपत मतलाई मान्ने नकुलीस पाशुपत दर्शन, अज्ञान निवृत्ति भई शिवोऽहम् भावमा पुग्न गुरु वचनलाई आधार मान्नुपर्छ भन्ने प्रत्यभिज्ञा तथा स्पन्द दर्शन, मुक्तिका लागि भस्म धारणद्वारा देहलाई स्थिर गर्न सक्नुपर्छ भन्ने मतावलम्बी रसेश्वर दर्शन, भस्म, यज्ञोपवित, कुण्डल, शिखामणि कर्णिका आदि धारण गरी उन्मुक्त वातावरणमा रमाउन चाहने मतका पक्षपाती कापालिक, कालामुख र शब्दज्ञानद्वारा जगत प्रपञ्चबाट मुक्त भई परम तìव प्राप्त गर्न सकिन्छ भन्ने व्याकरण दर्शन तथा कर्मप्रधान शक्तिविशिष्टाद्वैत अर्थात् जीव र शिवलाई एउटै मान्ने वीरशैव र शैवशास्त्र नै एक मात्र मुक्तिको आधार मान्ने शैव मत आदि यस दर्शनका केही भावधारा हुन् । यीमध्ये कतिपय तमिलनाडु, कर्णाटक, काश्मीर आदि भारतीय भूभागका उपज हुन् (कतिपय विशुद्ध नेपाली भूभागसित सम्बन्धित छन् । यिनमा केही अभिमतले हाल विशुद्ध कर्मकाण्डी स्वरूप धारण गरिसकेका छन् । कतिपय अभिमतमा तìव चिन्तनको प्रौढतम स्वरूप भेट्टाउन सकिन्छ ।
शैवदर्शनको प्रणेता असुरहरू हुन् भन्ने कतिपय विद्वान्को ठहर छ । असुरहरूका इष्टदेव शिव हुनुले यसमा थप बल पु¥याएको छ । रावणको शिवभक्ति बेजोड छ । वाणासुरको शिवभक्ति पनि उत्तिकै अतुलनीय देखिन्छ । वली, विरोचन र प्रह्लादबाहेक प्रायः सबै असुर सम्राट्हरूले शिवलाई कुनै न कुनै रूपमा मानेका छन् । असुरकुल गुरु शुक्राचार्य आफैँ शिवभक्त थिए । शक्ति उपासनामा पनि असुरहरू नै अगाडि देखिन्छन् । दुर्गापूजाकै कुरा गर्ने हो भने पनि आर्येतर पूजा नै हो सुरुका दिनहरूमा, जसलाई निकै पछि मात्र आर्यहरूले अपनाएका थिए । असुरहरू तन्त्रवादी थिए, जो यस क्षेत्रमा आर्यहरूको प्रवेशपूर्व बस्दै आएका आदिवासी रैथाने जाति हुन् । सुरुमा आर्यहरू असुरहरूलाई योनी तथा लिङ्गपूजक भनेर घृणा गर्थे तर बिस्तारै उनीहरू पनि यसै धारमा प्रवाहित हुन पुगेका छन् । (राहुल सांकृत्यायन भोल्गादेखि गङ्गासम्म) प्रा.डा. माधवप्रसाद पोखरेलका अनुसार युराल पहाडको पश्चिमतिर कश्यप सागर र कृष्णसागरको उत्तरी क्षेत्रतिर पर्ने रुसको भोल्गा नदी किनारको सिन्तास्ता भन्ने स्थानमा बसोबास गर्ने भारोपेली (आर्यहरू) का एउटा हाँगो पूर्वतर्फ बढ्दै जाने क्रममा यस हिमाली उपमहाद्वीप क्षेत्रमा आइपुगेका हुन् । उनीहरूले मूल थलोबाट वक्षु नदी पार गरी पामिर, हिन्दकुश क्षेत्रका अग्लाअग्ला हिमशृङ्खला, दुर्गम पाहाड, पर्वत, भीर, पाखा, गुफा, नदी, नाला छिचोल्दै यस क्षेत्रमा आइपुग्दा निकै कष्ट झेलेका छन्, सङ्कट बेहोरेका छन् । सम्भवतः उनीहरू जहाँजहाँ पुगेका थिए ती स्थानका संस्कृति र परम्परा स्वीकार्नुको पछाडि यिनै कष्ट र सङ्कटले काम गरेको हुनुपर्छ ।
इतिहासको कुनै कालखण्डमा शैवदर्शन प्रवाह मध्य एसियादेखि सुदूरपूर्वमा इन्डोनिसिया र कम्बोडियासम्म पुगेको देखिन्छ । ती स्थानहरूमा अहिले पनि प्राचीनतम शिवमूर्ति तथा शिव मन्दिरहरूका भग्नावशेष पाइने गरेको अन्वेषकहरूले बताउँदै आएका छन् । (कल्याण तीर्थकथाङ्क पृष्ठ ५८८–५९९, गीताप्रेस गोरखपुर) उत्तर अफ्रिकी मुलुक इजिप्ट (प्राचीन मिश्र देश)का विभिन्न स्थानमा शिवका अनेक मूर्ति रहेका छन्, जसलाई अहिले पनि कतिपय स्थानीय व्यक्तिहरूले दूधले स्नान गराउने र बेलपत्र चडाएर पूज गर्ने गरेका छन् । तुर्किस्तानको बेबिलोन भन्ने स्थानमा १२ सय फिट अग्लो महालिङ्ग रहेको छ, जो संसारकै अग्लो शिवलिङ्ग मानिन्छ । त्यस्तै इस्लामहरूको पवित्र तीर्थस्थल मक्कामा पनि मक्केश्वर नामक शिवलिङ्ग रहेको बताइन्छ, जसलाई हाल कावा भन्ने गरिएको छ । (ऐऐ पृष्ठ ५९०) वरिष्ठ साहित्यकार मदनमणि दीक्षितका अनुसार गत शताब्दीसम्म पनि स्पेन, इरान, अफगानिस्तान, भारत र नेपाल हुँदै पूर्वमा कम्बोडियादेखि भियतनामसम्मको हिमाली शृङ्खलामा विक्रमपूर्व ५००० वर्ष अघिदेखिका महादेव पशुपतिको प्रतीकात्मक ढुङ्गे मूर्तिका अवशेष फेला पर्ने गरेका थिए (गौरीशङ्कर, ऋग्वैदिक नारी चरित्र) हाल शिवका १२ ज्योतिर्लिङ्ग (विशेष लिङ्ग) भारतीय भूभागमा छन् तर तिनका शिरोभाग डोलेश्वर, आदि ज्योतिर्लिङ्ग पशुपतिनाथ नेपालमा छन् । अहिले पनि यिनको दर्शन नगरी अन्य ज्योतिर्लिङ्ग दर्शनको फल पाइन्न भन्ने धार्मिक जनविश्वास छ ।
देवता भने पनि समाज सुधारक, नेतृत्वकर्ता वा अगुवा जे भने पनि लामो समयसम्म हिमाली क्षेत्रलाई नेतृत्व प्रदान गर्ने व्यक्ति शिव नै हुन् । उनले यस क्षेत्रका मानिसको आस्था जितेका छन्, विश्वास जितेका छन्, सबैभन्दा बढी मन जितेका छन् । यस क्षेत्रमा उनको सम्झना नगर्ने मानिस कमै हुनुपर्छ । यहाँका निवासीहरूले अहिले पनि कुनै न कुनै रूपमा उनलाई पूजा र उपासनाद्वारा सम्मान र सम्झना गर्दै आएका छन् । नेपालीहरूका कुरा गर्दा अधिकांशले इष्टदेवता वा कुलदेवताकै रूपमा स्वीकारी सकेका छन् । साँझ बिहान धूपधुवार गरी सम्झना गर्ने देवतामा पनि उनै पर्छन्, चोखो मीठो पाक्दा, कुनै शुभकार्य गर्नुपर्दा वा नयाँ अन्न खानुपूर्व सम्झना गर्ने देवतामा पनि उनै पर्छन् । उनी किराँतहरूका त यसै पनि इष्ट देवता हुँदैहुन् । पशुपतिनाथ आफैँ किराँतेश्वरका नामले समेत चिनिएका छन्, पुकारिएका छन् । यसबाहेक शिवको छुट्टै एउटा अवतार किराँत अवतारसमेत रहेको छ, जसले पाशुपतास्त्र प्रदान गरेर कुन्तीपुत्र अर्जनलाई महाभारतको युद्धमा विजयी गराएका थिए । (महाभारत वनपर्व) वैदिक सनातन धर्मीहरूमाझ रहेको शिवले पार्वतीसँग विवाह गरेपछि किराँत रूप लिएर पशुपति श्लेषमान्तक वनमा विहार गरेका थिए भन्ने किंवदन्तीले सांस्कृतिक स्वरूप धारण गरिसकेको छ । वैदिक सनातनी खसआर्यहरूमा कति मस्टो उपासक रहेका छन्, जो शिवकै एउटा स्वरूप मानिन्छन् । नेपालका आदिवासी जनजाति शेर्पा, मगर, नेवार, थारू आदिका कुलदेवता शिव नै हुन्, भलै नाम फरक होलान् । (विष्णुप्रभात, नेपाली दर्शन) कतिपय हिन्दु खसआर्यका कुलदेवताको नाम क्षेत्रपाल रहेको छ । यो भनेको पनि शिवकै एउटा रूप हो । वेदमा ‘क्षेत्राणां पतये नम’ भनेर उनको सम्मान गरिएको छ । (शुक्लयर्जुवेद १६।१८) त्यस्तै कतिपयका कुलदेवताका नाम गैडु र महारुद्र रहेका छन् । यो भनेको सम्भवतः गौरीसहितका रुद्र नै हुनुपर्छ ।
धर्ममीमांसा
पाणिनीय व्याकरणका अनुसार धारण अर्थमा रहेको धृञ् धातुमा मन् प्रत्यय लागेपछि धर्म शब्द बन्छ । यसको अर्थ हुन्छ धारण गर्नु । वैशेषिक दर्शनमा महर्षि कणादले धर्म शब्दको व्युत्पत्ति गर्दै भनेका छन् ‘यतोऽभ्युदयनिः श्रेयससिद्धिः स धर्मः ।’ अर्थात् जुन कार्यबाट मानव जीवनको अभ्युदय अर्थात् जीवनको सर्वाङ्गीण विकास वा उत्थान र समग्र कल्याण हुन्छ त्यही नै धर्म हो । (वैशेषिक सूत्र १।१।२) त्यस्तै कतै ‘धृयते लोकोऽनेन इति धर्म’ र ‘धरति लोकं वा धर्म’ भनिएको पनि पाइन्छ । (कल्याण नीतिसार अङ्क पृष्ठ १७०) खासगरी धर्मका दुईवटा पक्ष छन्, जसमा सामान्य धर्म र विशेष धर्म पर्छन् । विशेष धर्म व्यक्ति, समूह र अवस्थाअनुसार फरक हुन सक्छन् । वर्णधर्म, आश्रमधर्म, पिताधर्म, पुत्रधर्म, पतिधर्म, पत्नीधर्म, कर्मचारीको धर्म, शिक्षकको धर्म, कृषकको धर्म, उपभोक्ताको धर्म, व्यापारीको धर्म, उद्योगपतिको धर्म यस्तैयस्तै । सामान्य धर्म भने सार्वभौम हुन्छ, जुन जहाँसुकै रहेबसेका भए पनि मानव मात्रमै लागू हुन्छ र समग्र मानव समाज र मानवताको धर्म मानिन्छ । यसअन्तर्गत धृति, क्षमा, शम, (कतै दम पनि भनिएको छ) अस्तेय, शौच, इन्द्रिय निग्रह, विद्या, बुद्धि, सत्य र अक्रोध पर्छन् । (मनुस्मृति ६।९२) धृतिका अर्थ धेरै छन् । तिनमा एक धारण गर्नु हो । क्षमाको अर्थ माफी हुन्छ । कसैले कुनै गल्ती गरे पनि उसलाई त्यसै छाडिदिनुलाई माफी भनिन्छ । शम बहु अर्थकारी शब्द हो, जहाँ निवृत्ति वा मोक्ष पनि पर्छ तर दम मानेको खण्डमा भने मन, बुद्धि आदि अन्तस्करण निग्रह गर्नुपर्छ भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ । अस्तेयको सोझो अर्थ हुन्छ चोरी नगर्नु । चोरी धेरै किसिमका हुन्छन् । धनसम्पत्तिको चोरीलाई मात्र चोरी भनिँदैन । हावा, पानी, माटोलगायत समग्र वातावरणको अनधिकृत प्रयोेग चोरीभित्रै पर्छ । शौचको अर्थ हुन्छ शुद्धि । अर्को अर्थमा यसलाई सरसफाइ पनि भन्न सकिन्छ । इन्द्रिय निग्रह भनेको इन्द्रियहरूलाई नियन्त्रित गर्नु वा वशमा राख्नु हो । धी भनेको बुद्धि हो । बुद्धिलाई असल मार्गमा लगाएर सर्वहितको पक्षमा उभिनु यसको अर्थ हो । विद्या भनेको ज्ञानको बाटो हो । बाटा दुईवटा छन् विद्या र अविद्या । यहाँ विद्याको बाटोको अर्थमा लिइएको छ । सत्यको अर्थ सत्यको बाटोमा हिँड्नु हो, सत्मार्गको अनुसरण गर्नु हो । अक्रोधको अर्थ हुन्छ बिनाकारण कसैमाथि पनि क्रोध नगर्नु वा नरिसाउनु । (कल्याण नीतिसार अङ्क पृष्ठ १७१) शैवधर्म उल्लिखित दसै किसिमका धर्मका पक्षपोषक हो । शिव आफैँ व्यक्ति, वर्ण, समूह र आश्रम धर्मबाट माथि उठेका छन् । उनलाई उल्लिखित कुनै पनि विशेष धर्मको नियमले छुँदैन तर सामान्य धर्मका भने पूर्णतः अनुयायी रहेका छन् । समग्रमा भन्नुपर्दा शैव धर्म भनेको त्यस्तो धर्म हो, जसले मानवताको प्रचार गर्छ, मानवीय भाव जगाउँछ र मानव हुनुको बोध गराउँछ ।
शिवपुराणमा पञ्चमुखी शिवको प्रसङ्ग आएको छ । ती मुखहरूमा तत्पुरुष, अघोर, सद्योजात, वामदेव र ईशान पर्छन् । यिनीहरूले क्रमशः पूर्वदेखि उत्तर हुँदै ऊध्र्वमुखसम्मको प्रतिनिधित्व गर्छन् । विभिन्न कल्पमा उत्पन्न भएका यी मुखहरूले ब्रह्माजीको सृष्टिकार्यमा सहयोग गरेका छन् । उनलाई सृष्टिकार्य अघि बढाउन ज्ञान, बुद्धि र शक्ति प्रदान गर्ने यिनै पाँच मुख हुन् । (कल्याण अवतार कथाङ्क पृष्ठ २९७–२९८ गीताप्रेस गोरखपुर) शिवका आठ मूर्ति विशेष मानिएका छन्, जसलाई शर्व, भव, रुद्र, भीम, पशुपति, महादेव र ईशान भनिन्छ । यी मूर्तिहरू पृथ्वी, जल, तेज, वायु, आकाश, क्षेत्रज्ञ, सूर्य र चन्द्रका अधिष्ठान मानिन्छन् । यी भनेका जगत्का आधार हुन् । उनका यही आठ मूर्तिमा धागोमा माला जस्तै गरी अखिल विश्व ब्रह्माण्ड उनिएको छ । (कल्याण तीर्थाङ्क पृष्ठ ६२०, गीताप्रेस गोरखपुर) हिन्दु सनातनी आर्यहरूको ३३ कोटी (३३ किसिमका) देवतामा एकादश रुद्र पनि पर्छन्, जसका नाम कपाली, पिङ्गल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड र भव रहेका छन् । (शिवपुराण शतरुद्रसंहिता १८।१७) मूलतः उनका निराकार र साकार दुई रूप छन् । यीमध्ये निकार रूपले सृष्टि, स्थिति र प्रलयको व्यवस्थापन गर्छन् भने साकार रूपले तिनलाई कार्यान्वयन गर्छन् । साकार रूपमा एउटा लिङ्ग रूप पर्छन् । यो भनेको चराचर जगत्को आधार हो । आकाशलाई लिङ्ग र लिङ्ग घेर्ने योनी आकारको घेरा अर्थात् गोलाईलाई पृथ्वी भनिएको छ । देवीदेवतालगायत चराचर जगत्को आलय र लय हुने स्थान भएकाले लिङ्ग भनिएको हो । (स्कन्दपुराण अवन्तिका खण्ड)
वेदमा शिवबारे प्रशस्तै चर्चा भएका छन् । यहाँ उनले गाएका सूक्त पनि रहेका छन् । उनका बारेमा गाइएका सूक्त पनि भेटिएका छन् । अथर्ववेद दोस्रो काण्डको २८औँ सूक्त शिवले गाएका सूक्त हुन्, जहाँ द्यावाभूमिसित प्राणी समुदायको आयु र आरोग्य वृद्धिको कामना गरिएको छ तर शिवका बारेमा गाएका सूक्त भने निकै छन्, जुन केही ऋग्वेदमा, केही यजुर्वेदमा र केही अथर्ववेदमा देखिएका छन् । यजुर्वेद १६औँ अध्यायको सुरुको १६ मन्त्रलाई रुद्र सूक्त भनिन्छ । पूरा अध्यायलाई शतरुदीय सूक्त भन्ने गरिएको पाइन्छ, जसमा ६६ मन्त्र छन् । यस्तै अथर्ववेदको ११औँ काण्डमा उनको नामको अर्को सूक्त पनि भेटिएको छ । यस सूक्तले पनि उनको नाम र कामकै विशेषता वर्णन गरेका छन् । यसरी पशु (पाशनिबद्ध जीव) र पति (बन्धन विनिर्मुक्त देव वा शक्ति) अन्योन्याश्रय भएर रहेका छन् ।
तŒवमीमांशा
उपनिषद्ले शिवलाई त्यस्तो सत्याणु मानेको छ, जो आफैँमा पूर्ण छ, पूर्णबाट पूर्ण नै निकाल्छ र पूर्ण नै बाँकी रहन्छ । अन्यत्र कतै पनि त्यस्तो चमत्कार सम्भव हुँदैन तर शिवतत्वमा त्यस्तो जादू पनि सम्भव हुँदै आएको छ । आब्रह्म स्तम्भपर्यन्त सबै शिवतìवकै खेल हुन्, जहाँ कोही पनि अधुरा र अपूरा छैनन् । कमिलादेखि हात्तीसम्म र रुख, बिरुवा वनस्पतिदेखि मानिससम्म सबै पूर्ण छन्, पूर्ण नै रहन्छन् । एउटै शिव आवश्यकताअनुसार एकबाट अनेक हुन पनि सक्छन् । अनेकबाट एक हुन पनि सक्छन् । उनका आँखा पनि हजारौँ छन् । कान पनि हजारौँ छन् । हात पनि हजारौँ छन् । गोडा पनि हजारौँ छन् । मुख पनि हजारौँ छन् । नाक पनि हजारौँ छन् । उनी जतिबेला जहाँ जस्तो रूपमा प्रकट हुनुपर्छ त्यस्तै रूपमा प्रकट हुन पनि सक्छन् र जेजस्तो काम गर्नुपर्छ त्यही गर्न सक्छन् । (श्वेताश्वतरोपनिषद् ३।३) यो भनेको अन्ततः चैतन्य धर्मी परमाणु तìव नै हो । ऋग्वेदीय आर्यहरूले सृष्टिपूर्वको अन्धकार प्रच्छन्न त्यस्तो युग वा अवस्थाको समेत उत्खनन गरेका छन्, जहाँ मायावी अन्धकारबाहेक सदसद केही पनि थिएन । न मृत्यु थियो न अमरता नै । नासदीय सूक्त (ऋग्वेद १०।१२९) का अनुसार उनीहरूले त्यतिबेला भयङ्कर अँध्यारो गुफामा यस्तो चैतन्य परमाणु कण भेट्टाएका थिए, जसलाई कसैले शिवतìव भनेका छन्, कसैले ब्रह्मतìव वा ईश्वरीय तìव (हिग्सबोसन) भनेका छन् । सायद वेदले ‘एकं सद्विप्रा बहुधा वदन्ति’ भनेर यतैतर्फ सङ्केत गरेको हुनुपर्छ । यही सत्याणु कणमा कम्पन हुँदा (कालचक्रले विस्फोट गराउँदा) चराचर जगत् उत्पन्न हुन पुगेको छ । यसैलाई थप प्रष्ट पार्दै ऋग्वेदीय हीरण्यगर्भ सूक्तका ऋषि भन्छन्– ‘हामी उत्पादनशील पदार्थ गर्भित त्यस्ता ज्योतिर्मय तìवलाई नमस्कार गर्छौं, जसले पृथ्वी र द्युलोकलाई धारण गरेका थिए वा छन् । मृत्युलाई आफ्नै अधीनमा राखी संसारलाई अमृतमय छाया प्रदान गर्ने यही शक्तिशाली तìवले नै संसारलाई प्राणवान् बनाई गतिशील बनाएको हो । अन्तरिक्ष, ग्रह, नक्षत्रको स्थिति, पृथ्वी तथा यहाँका प्राणी जीवनदेखि ठूलाठूला पहाड, पर्वत, बरफको चट्टान, नदी, समुद्र आदिका व्यवस्थापन कार्य उनैद्वारा सम्भव भएको हो ।’ (ऋग्वेद १०।१२१)
वेदले एक रुद्रको कुरा पनि गरेको छ, बहु रुद्रको कुरा पनि गरेको छ । कतै असङ्ख्य रुद्रको पनि कुरा आएको छ । एक रुद्रवाद हिन्दुदर्शनको प्रौढतम चिन्तन हो, जहाँ सर्वेश्वरवादको कल्पना गरिएको छ । यसको विराट् स्वरूपको दर्शन ऋग्वेद मण्डल दशको ९०औँ सूक्तमा पाउन सकिन्छ, जसलाई पुरुष सूक्त भनिन्छ तर अनेक रुद्र वा असङ्ख्य रुद्रको अवधारणा भने प्रारम्भिक चिन्तनका उपज प्रतीत हुन्छन् । वस्तुतः जतिबेला मानव समाजले पाषणकालीन सभ्यताको घुम्टो उघारेको थियो त्यतिबेला उसले सर्वप्रथम साक्षात्कार गरेको भनेको आगो, पानी, माटो, हावा, चन्द्र, सूर्य, रुख, बिरुवा, वनस्पतिको विशेषतासितै हो । सम्भवतः उनीहरूलाई त्यतिबेला लागेको हुनुपर्छ यति ठूलो चमत्कार गर्ने कुनै देवता नै हुनुपर्छ । अनेकेश्वरवादको गर्भाधान यिनै मान्यता र विचारको गर्भमा भएको देखिन्छ । ऋग्वेदको पहिलो सूक्तमै अग्निको वन्दना गरिएको छ । हामी विश्वामित्र आदि ऋषिहरू अग्निको स्तुति गर्छौं भनेर ऋग्वेदको सुरुवात भएको छ । अग्निको तिरोहित र पुरोहित गरी दुई रूप हुन्छन् तर यहाँ पुरोहित अग्निको मात्र कुरा गरिएको छ । (ऋग्वेद १।१।१) यसको अर्थ हुन्छ उनीहरूले त्यतिबेलासम्म तिरोहित अग्निको अनुसन्धान गर्न भ्याएका थिएनन् । यसै मण्डलको सूक्त २ को नौ मन्त्रले वायुतìवको, सूक्त ३ को १२ मन्त्रले आकाश तत्वको, सूक्त ४ को १०औँ मन्त्रले जलतìवको र सूक्त २२ को १३औँ मन्त्रले पृथ्वी तìवको विशेषता वर्णन गरेको छ ।
ज्ञान मीमांसा
पौराणिक ग्रन्थहरूमा सृष्टि, स्थिति र संहार कार्यमा क्रमशः ब्रह्मा, विष्णु, महेश्वरको नाम उल्लेख भएका छन् । वास्तवमा ती भनेका अरू कोही नभई उनै परब्रह्म परमात्मा शिवका विविध रूप हुन् । उनीहरू रूपमा मात्र अलग हुन्, सारमा होइनन् । चराचर जगत भन्नु नै भगवान् शिवकै विस्तारित अवस्था हुन् । व्यष्टि ब्रह्माण्डदेखि समष्टि ब्रह्माण्डसम्म उनी व्याप्त छन् । उनलाई खोज्नु पर्दैन, देख्न सक्नुपर्छ जताततै फेला पर्छन् । (तैत्तिरीय आरण्यक १०।१६) वेदले चराचर जगतको पालन कर्ता पनि रुद्र नै हुन् भनेको छ । वेद भन्छ शिव चराचर जगतका रक्षाका लागि हातमा धनु लिएर विभिन्न तीर्थ अर्थात् स्थानमा घुम्ने गर्छन् वा घुमिरहेका छन् । (शुक्लयजुर्वेद संहिता १६।६१) शिव र रुद्र एउटै हुन्, अलग होइनन् भन्ने कुराको पनि वेदमै छिनोफानो भएको छ । हजारौँ शिर, मुख, घाँटी भएका र सर्वभूतमा निवास गर्ने सर्वव्यापी शिव र रुद्र एउटै हुन् । (श्वेताश्वतरोपनिषद्ं ३।११) अथर्वशिर्षोपनिषद्मा रुद्र शब्दको व्युत्पत्ति गर्दै भनिएको छ– ‘रुद्र र शिव एउटै हुन् । यसअनुसार सबैको दुःख नाश गर्ने भएकाले शिवलाई रुद्र भनिएको हो । (कल्याण वेदकथाङ्क पृष्ठ ३३५ गीताप्रेस गोरखपुर) तर व्यासजीले भने रुँदै आएको अर्थमा (श्रीमद्भागवत ३।१२।१०) र शतपथ ब्राह्मणले रुवाउँदै जाने अर्थमा रुद्र शब्दको विवेचन गरेका छन् । एकादश रुद्रको कल्पना यसै अर्थमा गरिएको हो, जो १० प्राण र आत्मासित सम्बन्धित छन् । यी आउँदा रुँदै आउँछन् र जाँदा रुवाउँदै जान्छन् । वेदमा शिवलाई रौद्ररूपमा पनि प्रस्तुत गरिएको छ तर उनको सो रूप बिगार्नका लागि नभएर बनाउनका लागि देखिन्छन् । उनी रौद्ररूप धारण गरी संहार गर्छन् तर संहारकै लागि भने संहार गर्दैनन् । शिवले बिगार्ने यसै अर्थमा हो । उनलाई एकैसाथ घोर पनि भनिएको छ अघोर पनि भनिएको छ वैदिक संहितामै । ‘अघोरेभ्योथघोरेभ्यो घोरंघोरतरेभ्यः । सर्वेभ्यः सर्वशर्वेभ्योनमस्तेऽअस्तुरुद्ररूपेभ्यः.।’ यसको अर्थ हो उनी घोररूपले बिगार्छन् अर्थात् संहार गर्छन् साथसाथै अघोर रूपले प्रकृतिको पारमाणविक भट्टीमा गालेर उसलाई नयाँ रूप दिने काम पनि गरिरहेका हुन्छन् । यस अर्थमा उनका अघोर रूप सृष्टिका प्रतीक र घोररूप संहारका द्योतक हुन् भन्नु मनासिब हुनेछ ।
उपसंहार
एउटै शिव तìव सृष्टि, स्थिति र प्रलयका आधार हुन् । (श्वेताश्वतरोपनिषद् ३।२) उनी कल्याणकारी देवता हुन् । शिव शब्दको अर्थ नै कल्याण सूचक मानिन्छ । शिवका अर्को नाम शङ्कर हो । यो पनि कल्याणसितै सम्बन्धित छ । गर्ने, गराउने, बन्ने, बनाउने, जन्मने, जन्माउने, हुने, होइने, देख्ने, देखिने, खाने, खाइने, मार्ने, मारिने, मर्ने सबै उनै हुन् । एउटै शिव कतै केही बन्छन्, कतै केही बन्छन् । (शतरुद्रीय सूक्त, शुक्लयजुर्वेद १६) मूलतः सबै शिवतìवकै खेल हो । सृष्टिको मूल आधार भनेको पृथ्वी, जल, तेज, वायु र आकाश हो, जसलाई पञ्चमहाभूत भनिन्छ । तिनलाई व्यावहारिक रूप दिने काम रूप, रस, गन्ध, स्पर्श र शब्दले गर्छन्, जसलाई पञ्चतन्मात्रा भनिन्छ । यिनको संयुक्त रूप भनेकै शिव हुन्, जसले तिनलाई सञ्चालन गरेका छन् । ऋग्वेद हिरण्यगर्भ सूक्तले कल्पना गरेको विशिष्ट शक्तिसम्पन्न विराट् स्वरूपलाई यसैभित्र लिन सकिन्छ । त्यस्तै उपनिषद्ले प्रकृति र पुरुष (अर्धनारीश्वरको) अवधारणा अघि सारेको छ । यसको अर्थ हो उनी निराकार रूपमा सृष्टितìवको मूल आधार हुन्, जो परमाणु रूपमा रहेका छन् भने सकार रूपमा अर्धनारीश्वरको अवस्थामा रहेका छन् । पौराणिक ग्रन्थहरूले यसलाई थप व्यख्या गर्दै जाने क्रममा लिङ्ग रूपको अवधारणा अघि सारेको हो । यहाँ वेदका शिवतìवसम्बन्धी गूढतम रहस्यलाई उपनिषद्ले केही सजिलो पार्ने काम गरेको देखिन्छ भने पुराणले विभिन्न अवतार तथा लीलाको प्रसङ्ग उठाएर त्यसैलाई थप प्रष्ट पार्ने प्रयास गरेको बुझिन्छ । वैदिक सनातनी आर्यहरूका जति पनि वेद, उपनिषद् तथा पौराणिक ग्रन्थहरू छन्, सबै शिवतìवकै वरिपरि घुमेका छन् र नानाभाँतीका कथा, उपकथा तथा दृष्टान्तद्वारा उनैलाई बुझाउने प्रयास गरेका छन् ।