तानसेन समाचारदाता
पाल्पा, चैत ५ गते । जिल्लाको पश्चिम भेगका किसानले खेर गएको जग्गामा लगाएको दालचिनी बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन्। दालचिनीको पात र बोक्रा मसलाका रूपमा प्रयोग हुन्छ। बल्ढेङ्गढी, सत्यवती, छहरा, जुठापौवा, दोभान, कचल, कोलडाँडालगायतका किसानले खेर गएको जग्गामा दालचिनीको खेती नै गरेका छन्।
यसबाट वार्षिक पाँच लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको रैनादेवी छहरा–७, बल्ढेङ्गढीका किसान कुलबहादुर कार्कीले बताउनुभयो। अन्य खेती गर्दा बाँदरले सताउने भएकाले अहिले दालचिनी खेती गर्दा हाइसन्चो भएको उहाँले बताउनुभयो।
दालचिनीका लागि एक पटक खाल्टो खनेर रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने किसानको भनाइ छ। “एक पटक रोपेपछि तीन वर्षभित्रै दालचिनीबाट राम्रो आम्दानी गर्न सकिन्छ,” तिनाउ–५, सत्यवतीका किसान दानबहादुर गाहाले भन्नुभयो।
दालचिनी बिक्री गर्ने बेलामा मात्रै बोटका पात सङ्कलन गर्न र बोक्रा निकाल्न मात्रै किसानका तर्फबाट लगानी हुने गरेको उहाँले बताउनुभयो।
यो वर्ष पात प्रतिकेजी ५५ रुपियाँ र बोक्रा प्रतिकेजी ९५ रुपियाँमा बिक्री भएको छ। किसानको घरमै आएर बुटवल भैरहवाका व्यापारीले दालचिनीका बोक्रा र पात खरिद गर्ने गरेका छन्। पाल्पाबाट यो वर्ष आठ करोडभन्दा बढीको दालचिनीका बोक्रा र पात भारतमा निकासी भएको भैरहवाका व्यापारी रामप्रसाद पन्तले जानकारी दिनुभयो।
दालचिनीको व्यावसायिक खेती गर्ने किसानले पाँच रोपनीदेखि ३०/३५ रोपनी क्षेत्रफलमा खेती गरेका छन्। दालचिनीमा मेहनत र लगानी कम हुँदा पनि यसको खेतीप्रति किसान आकर्षित भएको रैनादेवी छहरा–७ का वडाध्यक्ष रेमबहादुर रानाले बताउनुभयो। पछिल्लो समय गाउँ छाडेर सहरमा बसाइँ सर्नेका कारण खाली रहेको जमिनमा दालचिनीका बिरुवा रोप्न थालिएको अध्यक्ष रानाले बताउनुभयो।