• १२ वैशाख २०८१, बुधबार

हाम्रो सम्पदा

शिव भगवानलाई कुल्चिने पाल्ही कोटकी काली भगवती

blog

पाल्हीनन्दन (नवलपरासी), चैत ४ गते । नवलपरासी जिल्लाको पाल्ही नन्दन गाउँपालिका वडा नं.४ मा अवस्थित प्राचीन एवम् प्रख्यात पाल्ही कोटकी काली भगवती मन्दिर छ । यो मन्दिर परासीबाट करिब ८ किलोमिटर दक्षिण परासी महेशपुर राजमार्गको दाहिनेतर्फ रहेको छ ।

पाल्पाका सेनबंशी राजाहरूको अधीनमा रहेको यस क्षेत्रमा सेनवंंशी राजाहरूको दरबार रहेको र यही दरबारभित्र पाल्ही कोटकी काली भगवती छन् । यस मन्दिरको स्थापना पाल वंशीय राजाहरूको पालामा भएकाले यी भगवतीलाई पाल्ही कोटकी भगवती भनिएको हो ।

यी पाल्ही कोटकी काली भगवतीको मन्दिर सेनशैलीको कालीको प्रतिमा अमूर्त मृण्मय पिण्डको रूपमा छ । यस मन्दिरको चौका माथि माटाका अर्धगोलाकार लहरै थुम्का उठाइएको छ । त्यही चौका भित्तामा सेनशैलीको शिलाको निकै नै आकर्षक मूर्तिसमेत स्थापना गरिएको छ। पाल्ही राजाले त्यहाँ कोटका स्थापना गरिएको कोटकाली देवीको प्रतीक मूर्ति प्यागोडा शैलीको एक मन्दिरभित्र रहेको छ ।

यी कालीले बायाँ हातमा खड्ग लिएकीले ज्ञानदायिनी र शान्त अवस्थाकी काली मानिन्छ । यहाँ विभिन्न किसिमका अन्य देव देवताका मूर्ति  छन् । मन्दिरको अगाडि ठुलो सिंहको मूर्ति र घण्टहरू झुन्डिएको छ भने देवीको मूर्ति रातो वस्त्रले सजिएकाले निकै नै आकर्षक देखिन्छ ।

वि.सं. १९०० मा इन्द्र सुब्बा भन्नेले गुठीको व्यवस्थासमेत गरिदिएका थिए । यस मन्दिरका पुजारी बेदब्यास पाठकका अनुसार एक दिन पाल्ही भगवती निकै नै क्रोधित हुँदा, उनको नजिक कोही पनि जान नसकेर शिव भगवानलाई गुहार मागे ।

पाल्ही भगवतीको क्रोधलाई शान्त पार्न शिव भगवान् नजिक जाँदा पाल्ही भगवतीले शिवलाई पनि नचिनेर कुल्चिएको भनाइ छ । जुन पाल्ही भगवतीको मूर्तिको तल देख्न सकिने पुजारी वेद व्यास पाठकले बताउनु भयो ।

साथै यस मन्दिरमा हिन्दुहरूको महानपर्व विजयादशमी, चैत्र दशलगायतमा सबैको कल्याणका लागि तान्त्रिक विधिले पञ्चवलीसहित पूजा गरिन्छ । पुजारी पाठकका अनुसार यस मन्दिरमा नेपाललगायत छिमेकी राष्ट्र भारतबाट अत्यधिक भक्तजनहरू यस मन्दिरमा आउने गर्दछन् । यस मन्दिरमा दैनिक नित्य पूजा हुने गर्दछ ।

यस मन्दिरमा पूजा अर्चना गर्नाले आफूले चिताएको कुरा पूर्ण हुने जनविश्वास छ । यही मन्दिरदेखि पूर्वतर्फ अर्थात् देव गाउँमा चामुण्डा देवीको मूर्ति छ । मन्दिरको क्षेत्रफल १.५ बिघा भएकोले यहाँ विभिन्न देव देवताका साना साना थुप्रै मन्दिर छन् ।

मन्दिरको प्रवेशद्वारको दाहिनेतर्फ पुरातत्त्व विभागको सूचना बोर्डसमेत राखिएको छ । यही सूचना बोर्डले पनि प्रमाणित गर्दछ कि यो प्राचीन मन्दिर हो । यस मन्दिरको व्यवस्थापनका लागि ११ सदस्यीय कोटकी काली भगवती मन्दिर विकास तथा संरक्षण समिति पनि गठन गरिएको छ ।