• ७ वैशाख २०८१, शुक्रबार

अर्थतन्त्र चलायमान बनाउन महोत्सव

blog

महोत्सवको उदघाटन समारोहअघि जातीय पहिचानसहित सहभागी स्थानीय जनजातीका महिला । तस्बिर : रविन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, चैत ३ गते । बर्दिबास महोत्सवको चौथो संस्करण सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ बर्दिबासको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सव १३ चैतसम्म चल्ने छ । ‘उद्योग व्यवसाय र कलाको विकाश गरौँ, साहित्य संस्कृतिको संरक्षण गरौँ’ नारासहित सुरु भएको महोत्सवको शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रवार उद्घाटन गर्नुभयो ।  

बर्दिबासको सामाजिक आर्थिक विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता विषयमा महोत्सव केन्द्रित रहेको जनाइएको छ । उद्घाटनअघि महोत्तरीमा बसोबास गर्ने थारु, दनुवार, मगर, तामाङ., माझी, नेवार, भुजेल, मुस्लिमसहित ९ थरिका जनजातिले लोकसंस्कृतिमा आधारित र्‍यालीसहित नगर परिक्रमा गर्नुभयो ।  

र्‍यालीमा सहभागी नौमती बाजासहित सिन्धुली कलाघरकी महिलाका सांस्कृतिक प्रस्तुतिले सबैको ध्यान तानेको थियो । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० रुपियाँ र विद्यार्थीलाई ४० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । चौथो संस्करण लाखबढीले अवलोकन गर्ने ५ करोडको कारोबार हुने आयोजकको आङ्कलन छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडले शिथिल र सङ्कुचनमा पारेको उद्योग व्यापार तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्ता महोत्सवले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबीच बढ्दो विप्रेषण, फस्टाउँदो पर्यटन उद्योग र बैङ्क तथा वित्तीय संस्थाको सुधारोन्मुख अवस्थितिले थला परेको अर्थतन्त्रमा आशाका किरण देखिएको धारणा राख्नुभयो । 

आयोजक बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले बर्दिबासमा कृषि, शिक्षा र स्वास्थ्यको प्रचुर सम्भावना रहे पनि राज्यको उपेक्षा र लगानीमैत्री वातावरण नहुँदा यहाँको व्यापार व्यवसाय धराशायी भएको पीडा पोख्नुभयो । महोत्सवले पर्यटकीय सम्भावनालाई समेत मूर्तरूप दिन महोत्सव फलदायी हुने बताउनुभयो ।  

महोत्सवमा व्यापारिक एवं सेवामूलक उद्देश्यका १ सय ७० स्टल राखिएका छन् । स्थानीय व्यापारी, रैथाने सामग्री र कृषि उत्पादनलाई प्राथमिकतामा राखिएको छ  ।