• १६ चैत २०८०, शुक्रबार

युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

blog

बिहीबार त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शक । तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)

तस्बिर:  विकास द्वारे र क्यान 

काठमाडौं, चैत २ गते । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । नेपालले युएईलाई डिएल मेथोडमा नौ रनले हराउँदै विश्वकप छनोटमा स्थान बनाएको हो ।


त्रिवि मैदान कीर्तिपुरमा बिहीबार जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । खेलका लागि पर्याप्त  प्रकाश नहुँदा डक वर्थ लेविस (डीएल) मेथोडको आधारमा नेपालले खेल जितेको हो।

अम्पायरले खेल रोक्दै नेपाललाई विजेता घोषित  गरेपछि युएईका खेलाडीले भने असन्तुष्टि जनाएका थिए । विजेता घोषणा गरेपछि नेपाली खेलाडीले खुसीयाली मनाएका थिए ।


सुरुवातमा बलिङमा कमजोर प्रदर्शन गरेको नेपालले ब्याटिङमा राम्रो गर्‍यो। जितका लागि विशाल योगफल पछ्याएको नेपालका लागि भीम सार्कीले ६७ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ७६ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।


आरिफ शेखले ५२ तथा ओपनर कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेल्नुभयो । शेखले ६२ बलमा दुई चौकाको सहयोगमा उक्त रन जोड्नुभयो। ३५ बलको सामना गर्नुभएका भुर्तेलले तीन चौका र चार छक्का हान्नुभयो। यस्तै गुल्सन झाले अविजित ५०,  कप्तान रोहित पौडेलले १६ र दीपेन्द्र सिंह ऐरीले १० रन बनाउनुभयो । 


बलिङमा युएईका जुनईद सिद्धिकीले तीन विकेट लिनुभयो । आयान अफ्जल खानले दुई तथा जाहोर खानले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय १० रनको विशाल योगफल बनाएको थियो ।

युएईका लागि आशिफ खानले एक सय एक रनको शतकीय पारी खेल्नुभयो । उहाँले ४२ बलमा चार चौका र ११ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै वृत्य अरविन्दले ९४ रन बनाउनुभयो । कप्तान मोहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाउनुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिनुभयो । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिनुभयो । 


जितसँगै नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । नेपालले घरेलु सिरिजमा क्लीन स्वीप गरेको छ । नेपाल लिगको सबै ३६ खेलबाट ४० अङ्क जोड्दै तेस्रो भयो । समान खेलबाट ३३ अङ्क बनाएको युएई छैटौँ स्थानमा रह्यो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) ११ अङ्क जोड्दै अन्तिममा रह्यो । नेपालको जितले ३९ अङ्क बनाएको नामिबिया चौथो स्थानमा झरेको छ । 

सात टोली सहभागी लिगमा स्कटल्यान्ड च्याम्पियन बन्दै शीर्षस्थानमा छ । ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले यसअघि नै जिम्बावेले यात्रा तय गरिसकेका छन् । लिगमा ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा रहेको छ । 


लिगको अन्तिम चारमा रहेका टोलीले अब यसै महिनाको अन्तिममा नामिबियामा हुने प्लेअफ क्वालिफायर  खेल्नेछन् ।  प्लेअफ क्वालिफायरमा लिग–२ को अन्तिम चारमा रहेका युएई, अमेरिका, नामिबिया र पीएनजीसहित आईसीसी च्यालेन्ज लिग समूह ‘बी’ को विजेता जर्सी र ‘ए’ को विजेता क्यानडागरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।  यी ६ टोलीबाट शीर्ष दुईले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।

यस्तै जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा विश्वकप छनोटमा सुपर लिग–२ को अन्तिममा रहेका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली रहनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीलेसुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली गमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय  विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ ।