• १२ मंसिर २०८१, बुधबार

शववाहन खरिद गर्दै स्थानीय सरकार

blog

बुलबुले समाचारदाता 

सुर्खेत, चैत २ गते । स्थानीय तहले पछिल्लो समय धमाधम एम्बुलेन्स र शववाहन खरिद गर्न थालेका छन्। स्थानीय आवश्यकतालाई ध्यानमा राखेर एम्बुलेन्स र शववाहन खरिद गरिएको जनप्रतिनिधि बताउँछन्। 

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष खड्क विकका अनुसार पालिकाले थप अर्को एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको छ। गर्भवती तथा सुत्केरी महिलाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ। 

वीरेन्द्रनगर नगरपालिकाले पालिकाका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइरहेको छ। नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्दै आएको छ। पालिकाले निःशुल्क सेनेटरी प्याड वित्तरण, गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा दिइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले जानकारी दिनुभयो। 

जुम्लाको चन्दननाथ नगरपालिकाले मङ्गलबारदेखि एकैसाथ एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको छ। जुम्लामा पहिलो पटक शववाहन सञ्चालन भएको हो। शववाहनसँगै चन्दननाथ नगरपालिकामा पहिलो पटक एम्बुलेन्स पनि सञ्चालनमा आएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा पालिकाले शववाहन र एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको चन्दननाथका नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल सरकारको पूर्ण राजस्व छुटमा शववाहन र एम्बुलेन्स खरिद गरिएको हो। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा ३२ लाख रुपियाँ सहयोग गरेको थियो। शववाहन सञ्चालनमा आएसँगै नागरिकलाई सहज भएको छ। शव एक ठाउँबाट अर्को ठाउँमा लैजान सहजै अन्य गाडी उपलब्ध नहुने र ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता हटाउन शववाहन ल्याइएको नगरपालिकाले जनाएको छ। दुर्घटना, प्राकृतिक विपत्तिजस्ता कारण मृत्यु भएकाको शव बोक्न निजी सवारीसाधनले महँगो शुल्क लिँदै आएका छन्। निजी सवारीसाधनमा शव लैजाँदा एउटै व्यक्तिले ८० देखि ९० हजार रुपियाँसम्म भाडा तिनुपर्ने बाध्यता छ। 

पालिकाले नै शववाहन सञ्चालनमा ल्याएपछि सो समस्या अन्त्य भएको चन्दननाथका स्थानीय सन्तबहादुर महतले बताउनुभयो। नगरपालिकाका जनस्वास्थ्य अधिकृत क्षेत्रबहादुर महतका अनुसार जिल्लाभरका सम्पूर्ण ठाउँमा शववाहनले सेवा दिनेछ। 

दैलेखको नारायण नगरपालिकाले नागरिकको सहजताका लागि बुधबारदेखि शववाहन सञ्चालनमा ल्याएको छ। यसअघि पालिकामा शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो। नागरिकको समस्यालाई बुझेर शववाहन सञ्चालन गर्न लागिएको नगरप्रमुख लोमन शर्माले जानकारी दिनुभयो। नेपाल सरकारको ५० प्रतिशत राजस्व छुटमा नगरपालिकाले ११ लाख रुपियाँमा शववाहन खरिद गरेको हो। नगरप्रमुख शर्माका अनुसार शववाहन नहुँदा नागरिकले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा समेत ट्याक्टरमा बोक्ने गरेका थिए। नगरपालिकाले प्राकृतिक विपत्ति, भीरबाट लडी मृत्यु र बेवारिसे लासको शुल्क नलिने जनाएको छ। 

नगरपालिकाले एम्बुलेन्स खरिदका लागि ११ लाख बजेट खर्च गरेको छ। दुर्गम क्षेत्रमा बिरामीको उपचार र दुर्घटनामा परेका बिरामीलाई चाँडै स्वास्थ्य संस्थामा लैजान एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ। नगरपालिकाभरका गर्भवती र सुत्केरी आमाका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ।