सुर्खेत समाचारदाता
सुर्खेत, चैत २ गते । सुर्खेत जिल्ला प्रशासन कार्यालयको आफ्नै आधुनिक भवन निर्माण भएको छ। मङ्गलबार गृहसचिव विनोदप्रकाश सिंहले प्रशासनको नयाँ आधुनिक भवनको उद्घाटन गर्नुभयो।
गृहसचिव सिंहले नयाँ भवनबाट सेवाग्राहीलाई सेवा दिन सहज र गुणस्तरीय हुने बताउनुभयो। उहाँले जसरी भवन निर्माणको काम तोकिएको अवधिभन्दा छिटो भयो, त्यसैगरी सेवाग्राहीलाई पनि छिटो सेवा प्रदान गरेर सरकारी कार्यालयप्रति थप विश्वास जगाउनुपर्ने सुझाव दिनुभयो।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पुरानो भवन साँघुरो भएकाले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकिएको तर अब सहज र गुणस्तरीय सेवा दिइने प्रतिबद्धता जनाउनुभयो। उहाँले सुर्खेत प्रशासनमा दैनिक कामको चाप बढ्दै गएको तर स्रोतसाधनको अभाव भएकाले सोको व्यवस्था जुटाइदिन गृह मन्त्रालयसँग माग गर्नुभयो।
वि.सं २०३४ मा बनेको पुरानो शैलीको साँघुरो भवनबाट सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयले यही फागुन ११ देखि नयाँ भवनबाट सेवा दिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुनकोशी/प्रजिल निर्माण सेवाले सात करोड ६१ लाखको लागतमा भवन तयार गरेको हो। २०७७ पुस ९ गते भवन निर्माणको सम्झौता भई २०८० असार ८ गतेसम्म सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माण कम्पनीले तोकिएको अवधिभन्दा सात महिनाअघि नै भवन निर्माण गरेर हस्तान्तरण गरेको हो। नवनिर्मित चारतले भवनमा ४६ वटा कोठा छन्। नागरिकता, राहदानीलगायत अत्यावश्यकीय सेवा पहिलो तलामा प्रवाह गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत पदमलाल लामिछानेले ४५ वर्षपछि जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण भएको जानकारी दिनुभयो।