दैलेख समाचारदाता
दैलेख, चैत २ गते । नारायण नगरपालिकाको मुख्य सडक क्षेत्र निर्माणमा ढिलाइ भएको छ। पुरानो बजारदेखि गणेश चोकसम्म मुख्य सडक क्षेत्रमा नालासहित सडक स्तरोन्नति गर्न ढिलाइ हुँदा पैदल यात्रुलाई समेत समस्या भएको छ।
कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिने गरी नगरपालिकाले एक करोड १२ लाख बजेट विनियोजन गरेको थियो। सो कामको ठेक्का एसआरपी ग्रुप कन्स्ट्रक्सनले पाएको थियो। सो कम्पनीले मुख्य बजार क्षेत्र पुरानो बजार, देवकोटा चोक हुँदै गणेश चोक जाने सडकका विभिन्न ठाउँमा भत्काएर अलपत्र पारेको छ। सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। पैदल यात्रुलाई आवतजावतमा समस्या परेको बताइन्छ। नाला भत्काइँदा दुर्गन्ध, धुलो, धुवाँले समेत स्थानीय पीडित छन्।
नारायण नगरपालिका–१ का मनोजकुमार थापाले निर्माण कम्पनीको लापरबाहीका कारण पैदल यात्रु र आसपासका बासिन्दाले दुःख पाएको बताउनुभयो। सडक अस्तव्यत हुँदा सवारी दुर्घटनामा समेत वृद्धि भएको छ। नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले सडक र नाला निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको भए पनि बीचमा रोकिएको जानकारी दिनुभयो। निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिइएको प्रमुख शर्माले बताउनुभयो।
उहाँले भन्नुभयो, “काम छिटो सम्पन्न गर्ने जानकारी कम्पनीले दिएको छ। नगरपालिकाले निरन्तर अनुगमनसमेत गरेको छ।” निर्माण कम्पनीका प्रतिनिधि मदन भण्डारीले माघी पर्व मनाउन कामदार गएकाले काममा ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “कामदार आइसके, अब काममा रफ्तार बढ्छ।”
उहाँले खनिएको ठाउँमा ग्राभेल गर्ने, जाली बुन्ने र ढलान गर्ने काम सुरु भएको जानकारी दिनुभयो।