• ११ असोज २०८१, शुक्रबार

अधिकांश मुद्दामा मिलापत्र

blog

दोलखा समाचारदाता

दोलखा, चैत २ गते । दोलखाका स्थानीय तहमा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि न्यायिक समितिमा अहिलेसम्म दर्ता भएका विभिन्न मुद्दामध्ये अधिकांश मिलापत्रमा टुङ्गिएका छन्। चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा १२४ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये ७६ वटा मिलापत्र भएका छन् भने ४८ वटा मुद्दा प्रक्रियामा छन्। 

सबभन्दा बढी मुद्दा भीमेश्वर नगरपालिकामा परेका छन्। यहाँ अहिलेसम्म जम्मा ४० वटा मुद्दा परेको जानकारी दिँदै नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक कमला बस्नेतले भन्नुभयो, “अहिलेसम्म दर्ता भएका ४० मध्ये २० वटामा मिलापत्र भएको छ भने २० वटा प्रक्रियामा छन्।” उहाँका अनुसार सबभन्दा बढी जग्गाको साँधसिमाना मुद्दा परेका छन्। त्यसबाहेक लेनदेन, महिला हिंसालगायतका मुद्दा पनि दर्ता भएका छन्। सबभन्दा कम मुद्दा शैलुङ गाउँपालिकामा एउटा मात्र परेको छ। उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक पार्वती थापाले भन्नुभयो, “प्रशासकको हातबाट मुद्दा छिनोफानो गराइरहेको बानीले हो वा न्यायिक समितिलाई विश्वास नमानेको हो, मुद्दा धेरै आएका छैनन्। मुद्दा आए पनि हामी छलफलबाट सकभर मिलापत्र गराउँछौँ।”  

मुद्दाका पक्ष र विपक्षले भने जितहार माग्ने उहाँको अनुभव छ। उहाँले भन्नुभयो, “न्याय दिन सारै अप्ठ्यारो हुँदो रहेछ।” वैतेश्वर गाउँपालिकामा दर्ता भएका १३ मुद्दामा १० वटा मिलापत्र भएको छ। बाँकी तीनवटा प्रक्रिया रहेको जानकारी दिँदै न्यायिक समितिका संयोजक एवं उपाध्यक्ष कल्पना उप्रेतीले भन्नुभयो, “मुद्दा किनारा लगाउनु कठिन कुरा हो तापनि दुवै थरीलाई दुई/तीन चरणमा छलफल गराएर झगडा पर्नुको कारण पत्ता लगाउने गरिएको छ।”  

उहाँले झगडा गर्नु राम्रो रहेनछ भन्ने महसुस भएपछि मिलापत्र गरिपाउन निवेदन आउने गरेको बताउनुभयो। मुद्दामा दुवैको जित हुने गरी मिलापत्र हुने गरेको उहाँको दाबी छ। फैसला गर्दा झन् शत्रुता बढ्ने र अझ उग्र रूप लिने गरेकाले अहिलेसम्म फैसला गरिएको छैन।  पालिकाहरूको अभिलेखअनुसार गत चार वर्षको अवधिमा यहाँ एक हजार ६४ वटा मुद्दा दर्ता भएका छन्; जसमा ११ वटा जिल्ला अदालत पठाइएको छ। बाँकी एक हजार ५३ मुद्दा मिलापत्र भएको देखिएको छ।