• १२ साउन २०८१, शनिबार

आईसीसी विश्वकप लिग–२

पीएनजीमाथि युएईको सहज जित

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै पीएनजी र युएई । तस्बिर : क्यान

काठमाडौं, चैत १ गते । आईसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) ले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा युएईले पीएनजीलाई ६ विकेटले हरायो । 

जितका लागि पीएनजीले दिएको दुई सय ३५ रनको लक्ष्य पछ्याएको युएईले ३८.४ ओभरमा चार विकेटको क्षतिमा दुई सय ३६ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

युएईका लागि कप्तान मोहम्मद वासमिले एक सय १९ रनको सतकीय पारी खेल्नुभयो । उहाँले ७६ बलमा ६ चौका १२ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

वृत्य अरविन्द ३३, सिपी रिजवानले अविजित २९, आयान अफ्जल खानले २७ र आशिफ खानले ११ रन बनाउनुभयो । बलिङमा पीएनजीका रिले हेकुरेले दुई तथा जोन कारिको र कवुवा मोरेयाले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ३४ रन बनाएको थियो ।  पीएनजीका लागि कप्तान असद भालाले ६५ रन बनाउनुभयो ।

यस्तै नर्मन भानुवाले अविजित ४९, राईली हेरुकेले अविजित ३३, किप्लिन डोरिगाले २४, चाल्र्स अमिनीले २२ र गौडी टोकाले १५ बनाउनुभयो । बसिलङमा युएईका हर्जत बिलालले चार विकेट लिनुभयो ।

जावर फरिद र रोहन मुस्ताफाले एक एक विकेट झार्नुभयो । विश्वकप छनोटबाट बाहिरिएको पीएनजीको अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने चाहना पूरा भएन ।

यता युएईले पीएनजीलाई हराएर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको गणितीय सम्भावना जीवित बनाएको छ । युएईले अन्तिम खेल बिहीबार नेपालसँग खेल्दैछ । नेपाललाई हराएमा युएईको एकदिवसीय मान्यता रहनेछ ।

यस सिरिजमा  ३५ खेलबाट ३३३ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ । नेपाल ३५ खेलबाट ३८ अङ्क जोड्दै चौथो स्थानमा छ । सबै ३६ खेल सकेको पीएनजी ११ अङ्कसहित तालिकाको अन्तिममा छ ।