• १३ मंसिर २०८१, बिहिबार

सामुदायिक वनमा जताततै डढेलो

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, चैत १ गते । चैत महिना नलाग्दै सिन्धुली जिल्लाका सामुदायिक वनहरू डढेलोको जोखिममा पर्न थालेका छन्।

विगत केही दिनदेखि जिल्लाका विभिन्न सामुदायिक वनमा दैनिकजसो डढेलो लाग्दै आएको स्थानीयले बताएका छन्। सामुदायिक वनहरूमा डढेलो लागेका कारण संरक्षण गरेका वनजङ्गल नष्ट हुने र नजिक रहेका घरगोठमा आगलागी हुने डर रहेकाले स्थानीय त्रसित हुन थालेका छन्।

सुनकोशी गाउँपालिका–५ निवासी उपभोक्ता विनोद दाहाल गाउँको परेवाडाँडा सामुदायिक वनमा लागेको डढेलो तीन दिनपछि बल्ल निभेको बताउनुभयो। उहाँले भन्नुभयो, “उक्त सामुदायिक वनमा लागेको डढेलोका कारण २५ घर जोखिममा परे। मुस्किलले घरबस्ती जोगिए।”

जिल्लाको भिमान, कमलाखुँज र मरिण क्षेत्रमा रहेका विभिन्न सामुदायिक वनमा दैनिक रूपमा डढेलो लागिरहेको स्थानीयले बताएका छन्। जङ्गलमा सुकेका पातपतिङ्गर डढेलोले सल्किएपछि नयाँ घाँस पलाउने लोभमा पनि कतिपय ठाउँमा घाँसी तथा गाईगोठालाले लुकेर आगो लगाउने गरेको पाइन्छ। आगोले वनजङ्गलमा डढेलोको रूप लिँदा वन, वनस्पति, वन्यजन्तुमा ठूलो नोक्सानी हुने गरेको छ। 

कमलामाई नगरपालिका–५ स्थित दक्षिणकाली सामुदायिक वन समितिका उपभोक्ता शकुन्तला राई उक्त वन समितिले डढेलोबाट वनलाई जोगाउन अग्निरेखा बनाउनुका साथै झाडी सरसफाइ गरेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “वनलाई डढेलोबाट जोगाउन सामुदायिक वनका उपभोक्ताले जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहँदा पनि डढेलो लागिरहेको छ।” 

डढेलोले संरक्षित साल तथा अन्य जातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ। कार्यालयका सहायक वन अधिकृत हेमबहादुर थापा बर्खापछि अहिलेसम्म राम्रोसँग पानी नपरेकाले सिन्धुलीका विभिन्न वनमा जताततै डढेलो लागेको बताउनुहुन्छ। “लामो समय पानी नपरेकाले जङ्गलका पातपतिङ्गर सुकेर खङ्ग्रङ्ग भएका छन्,” उहाँले भन्नुभयो, “वन कार्यालयले डढेलो नियन्त्रण गर्न भनेर भर्ना गरेका हरित स्वयंसेवक र वनका अन्य कर्मचारी पनि दैनिक डढेलो निभाउन कुदिरहेका छन्।”

डढेलोले अहिलेसम्म ठूलो क्षति नगरे पनि यही रूपमा डढेलो लाग्ने क्रम रह्यो भने अबको १०/१२ दिनमा भयावह अवस्था आउन सक्ने उहाँको भनाइ छ। जिल्लाको चुरे क्षेत्र र महाभारत क्षेत्रमा समेत हरेक रात जङ्गलमा डढेलो लागेको प्रस्टै देखिन्छ। 

सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष हितलाल श्रेष्ठ डढेलो नियन्त्रण गर्न स्वयंसेवकको जत्था नै तयार गर्न सामुदायिक वन समितिलाई भनेको र अहिले धेरैजसो सामुदायिक वन समितिले उक्त जत्था तयार गर्दै गएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “डढेलो सल्काउनेलाई उपभोक्ता मिलेरै निरुत्साहित गर्नुपर्छ। सुक्खा मौसममा वनका पातपतिङ्गरमा सानो झिल्कोले भेट्दा पनि पूरै जङ्गल डढेलोले सखाप हुन्छ।” 

जिल्लाका नौवटा स्थानीय तहमध्ये कमलामाई, दुधौली नगरपालिका, मरिण र हरिहरपुरगढी गाउ“पालिकामा चुरे क्षेत्रको जङ्गल पर्छ। डढेलोका कारण वन क्षेत्रका साना बिरुवाहरू सखाप भएका छन् भने बहुमूल्य जडीबुटीसमेत नष्ट भएको स्थानीय बताउँछन्। 

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा हालसम्म ५०८ वटा सामुदायिक वन समिति गठन गरी उपभोक्तालाई हस्तान्तरण भइसकेको छ। यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलव ८५ हेक्टरमध्ये ८९ हजार ९४० दशमलव ४२ हेक्टर क्षेत्रफल ओगटेको छ। हस्तान्तरित सामुदायिक वनबाट ५४ हजार ३६३ घरपरिवारका उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।