• १३ मंसिर २०८१, बिहिबार

सङ्कटमा पुस्तैनी पेसा

blog

घोराही समाचारदाता

घोराही, फागुन ३० गते । रोल्पा सुनछहारी गाउँपालिका–५, जैमाकस्ला थनावाङ निवासी ३९ वर्षीया जस्मान विष्टको पुख्र्यौली पेसा हो, चाखी र सिलौटा बनाउने। घर नजिकैको पहाडमा रहेको ढुङ्गाखानीबाट ढुङ्गा निकाल्ने र त्यसलाई कुँदेर चिटिक्क पारेको पिठो पिस्नलाई चाखी र अचार पिस्नलाई सिलौटा बनाउने गर्नुहुन्छ।

अनि तिनै सिलौटा र चाखी बिक्री गरेर भएको आम्दानीबाट घर व्यवहार चलाउने गरेको जस्मान बताउनुहुन्छ तर पहिलेको तुलनामा पछिल्लो समय चाखी तथा सिलौटाको बिक्री भने घट्दै गएको छ।  

मिक्सर भित्रिएसँगै चाखी तथा सिलौटाको बिक्रीमा कमी आएको उहाँले बताउनुभयो। “पहिले गाउँघरमा पिठो चाखीमा पिस्ने हुन्थ्यो। अचार सिलौटामा लोराले पिस्ने गरिन्थ्यो। चाखी र सिलौटाको व्यापार हुन्थ्यो”, जस्मानले भन्नुभयो, “अहिले गाउँगाउँमा पिठो पिस्नलाई मिल र प्रायः सबैका घरमा अचार पिस्नलाई विदेशी मेसिन छ।” जसले गर्दा चाखी र सिलौटाको व्यापार घट्दै गएको छ। सिलौटा तथा चाखीको बिक्री घट्दै गए पनि आफूहरू परम्परात सीपको संरक्षणसँगै थोरै भए पनि आम्दानी हुन्छ कि भनेर अहिले पनि पुर्खाैली पेसा गर्दै आएको बताउनुहुन्छ। 

चाखी तथा सिलौटाहरू परम्परागत उपकरणहरू छिना, घन, झब्बल, हातेघन, साबेताको साहेताल बनाउने गर्ने गरेको जस्मान बताउनुहुन्छ। केही वर्षअघिसम्म खानीबाटै दैनिक रूपमा तीन/चार चाखी तथा सिलौटाहरू बिक्री हुने गरे पनि पछिल्लो समयमा वर्षभरि जम्मा ५० देखि ६० पिससम्म बिक्री हुने गरेको गुनासो उहाँको छ। एउटा चाखी तयार गर्न चार–पाँच दिन र सिलौटा बनाउन तीन दिनसम्म लाग्छ। मेहनतअनुसारको मूल्य पनि नभएको जितबहादुर बताउनुहुन्छ। सुरुमा गाउँमा १५/१६ घरपरिवार नै आबद्ध रहेको भए पनि पछिल्लो समय चाखी तथा सिलौटाहरू बिक्रीमा कमी आएसँगै अहिले पाँच/छ घरपरिवारका मानिस आबद्ध रहेको स्थानीय भागिराम विष्ट बताउनुहुन्छ।