बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, फागुन ३० गते । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर, पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाका बासिन्दालाई समयमै खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले तीनवटा ठूला खानेपानी आयोजना निर्माण भइरहेको छ।
तीन स्थानीय तहमा सञ्चालन भएका तीनवटा खानेपानी आयोजनाले खानेपानीको समस्यामा रहेका आफ्ना स्थानीय तहका बासिन्दालाई आगामी एक वर्षभित्र खानेपानीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएका छन्।
नगरपालिकाभित्रका नौवटा वडाका बासिन्दाका लागि गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले मण्डनदेउपुर नगरपालिकामा सञ्चालन भएको खानेपानी आयोजनाको कामले तीव्रता लिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा निर्माणाधीन खानेपानी आयोजनाअन्तर्गत हालसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ।
मण्डनदेउपुर खानेपानी आयोजनाका व्यवस्थापक मुकेश न्यौपानेले मुहानदेखि पानी ट्याङ्कीसम्मको मुख्य पाइपलाइन बिछ्याउने काम पूरा भएको बताउनुभयो। दुईवटा पानी प्रशोधन केन्द्र, ३० वटा पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको उहाँले बताउनुभयो। उहाँले आगामी तिहारसम्म नगरवासीले खानेपानी सुविधा पाउने दाबी गर्नुभयो।
उक्त आयोजनाबाट नगरपालिकाको वडा नम्बर ४, ५, ६ का तल्लो बस्तीका र अन्य वडा नम्बर ७, ८, ९, १०, ११ र १२ का पाँच हजार ५०५ घरधुरीका ३० हजार २० जना बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। यसैगरी सन् २०४० सम्म करिब ४५ हजार स्थानीय बासिन्दालाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले जिल्लाको पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाको काम भइरहेको छ।
सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाका व्यवस्थापक इन्द्रमानसिंह बस्नेतले हालसम्म ८१ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो। उहाँले पानीको मुहान सुनकोशी नदीमा इनार, इन्टेकलगायतका संरचना निर्माण गरी पम्प जडानको काम बाँकी रहेको बताउनुभयो। उहाँले १० वटा पानी ट्याङ्कीमध्ये नौवटा निर्माण सम्पन्न, १७ पाले घरमध्ये १४ वटाको काम सम्पन्न भएको बताउनुभयो।
त्यसैगरी मुहानदेखि प्रशोधन केन्द्रसम्मको नौ किमि पाइपलाइनमध्ये साढे पाँच किमि पाइपलाइन, प्रशोधन केन्द्रबाट अन्य ११ वटा ट्याङ्कीमा जाने ३७ किमि पाइपलाइनमध्ये हालसम्म २८ किमि र १८० वितरण पाइपलाइनमध्ये १६५ किमि काम सम्पन्न भएको बताउनुभयो।
छ हजार ३७ घरधुरीमध्ये एक हजार सात सय घरधुरीमा धारा जडान भइसकेका छन्। गत पुस १४ मा आयोजनाको म्याद समाप्त भएपछि साढे ११ महिना म्याद थपको प्रक्रिया सुरु गरिएको छ। उहाँले आगामी आठ/नौ महिनाभित्र आयोजनाको काम सम्पन्न हुने दाबी गर्नुभयो।
उक्त आयोजना एक अर्ब ४१ करोड ५८ लाख रुपियाँको लागतमा निर्माण भइरहेको छ। यसैगरी जिल्लाको तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका केही वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको तेमाल बृहत् खानेपानी आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ।
तेमाल बृहत् खानेपानी आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले आयोजनाको काम सम्पन्न गर्न चैत मसान्तको समयसीमा रहेको बताउनुभयो। उहाँले केही स्थानमा पाइप जडान, ब्रेक प्रेसर ट्याङ्की निर्माणको काम बाँकी रहेको बताउनुभयो। उहाँले सुरुमा आठ हजार ३७४ घरधुरीमा खानेपानी पु¥याउनुपर्ने भए पनि भूकम्पपछि घरधुरी सङ्ख्या बढेर नौ हजार ९३३ भएको बताउनुभयो।
अध्यक्ष लामाले आयोजनामार्फत लाभान्वित हुने घरधुरीमध्ये हालसम्म करिब दुई हजार पाँच सय घरधुरीमा धारा जडान गरी खानेपानीसमेत उपलब्ध गराएको बताउन्भयो। उहाँले धारा जडानसँगै खानेपानीसमेत खसालिने बताउनुभयो। करिब एक अर्ब ४० करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी आयोजनाबाट तेमाल गाउँपालिकाका साथै नमोबुद्ध नगरपालिकाको वडा नम्बर ३, ४, ५ र रोशी गाउँपालिकाको वडा नम्बर ७ का बासिन्दा लाभान्वित हुनेछन्।