• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको शपथ ग्रहणका झलक

blog

राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुहुँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : सुजन गुरुङ

तस्बिर : सुजन गुरुङ र कविन अधिकारी 

काठमाडौं, फागुन २९ गते। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो। शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गर्नुभयो। त्यसपछि उहाँलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो। राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो। 

त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाइ तथा सफलताको शुभकामना दिनुभयो।  शपथ ग्रहण लगत्तै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको छ।  

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी हुनुहुन्थ्यो। 

यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो।

राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री लगायतले बधाइ दिनुभएको थियो।

सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको थियो। त्यस अवसरमा नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो। 

नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रूपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो। 

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ।