• १३ मंसिर २०८१, बिहिबार

बालिका हत्या प्रकरण मलामी अनुसन्धानको घेरामा

blog

बुटवल समाचारदाता

बुटवल, फागुन २९ गते । रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेग्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकीसमेत अनुसन्धानको घेरामा तानिएका छन्। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो। 

उक्त घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुक तथा तन्त्रमन्त्रको बहानामा चरम यातना दिने क्रममा खिचिएको भीडीओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि क्रूर र अमानवीय घटना सार्वजनिक भएको हो।

उक्त भीडीओ सार्वजनिक भएपछि मलामी गएकालाई समेत तत्कालै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। बालिकालाई चरम यातना दिएको अभियोगमा माता भनिने सोनियालाई इलाका प्रहरी कार्यालय सालझन्डीले पक्राउ गरेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको चरम यातनाका कारण मृत्यु भएपछि माता भनिने सोनिया र मृतक बालिका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाट लगेर दाहसंस्कार गरी हत्या घटना गुपचुप राखेका थिए।

गत फागुन २० गते साँझ ६ बजे माताको घर झारफुक गर्न लगिएकी सीताको सोही राति ९ : ३० बजे मृत्यु भएपछि मातासहित बालिकाको घरपरिवारको आग्रहमा लक्ष्मणघाट मलामी गएका छिमेकी पनि अनुसन्धानमा तानिएका हुन्।

बालिकालाई झारफुक गरी निको पार्ने नाममा चरम यातनाबाट मृत्यु भएपछि यातना टुलुटुलु हेरेर बस्ने आफन्त, भीडीओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरीलाई दबाब परेको थियो। मृतक सीताका परिवारले विगत चार/पाँच दिनदेखि सीता कानसम्बन्धी बिरामी भएकी, पटकपटक अस्पताल लगेर जाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेग्मीले झारफुक गरी ठीक पार्छिन् भन्ने लागेर उनको घरमा लगेको बताएका छन्।