• १३ मंसिर २०८१, बिहिबार

विद्यालयमै पुगेर विद्यार्थीको दन्त परीक्षण

blog

बालबालिकाहरूको परीक्षण गरिँदै । तस्बिर: बाबुराम शर्मा

बाबुराम शर्मा 

दा्ेलखा, फागुन २९ गते । दोलखाको भीमेश्वर नगरपालिका र ह्यापी स्माइल हेल्थ फाउन्डेसनको साझेदारीमा नगरभित्रका सामुदायिक र संस्थागतका विद्यालयहरूका विद्यार्थीहरूको दन्त परीक्षण सुरु भएको छ । 

बालबालिकाहरूमा दाँतको समस्या तीव्र गतिमा देखिन थालेपछि सचेतनासहित विद्यालयका विद्यार्थीहरूको दन्त परीक्षण सुरु गरिएको फाउन्डेसनका डा. मनीषा दाहालले जानकारी दिनु भयो । 

उहाँका अनुसार नगरको वडा नम्बर ९ को सुर्के माध्यमिक विद्यालयबाट दन्त परीक्षण तथा छात्राका लागि रजस्वला तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी पनि दिइएको हो । छात्राहरूलाई प्याडबारे जानकारीका साथै घरमै भएका कपडाबाट प्याड बनाउने तरिका पनि सिकाइएको छ । 

यहाँका नर्सरी देखि कक्षा १२ सम्मका २५० जना विद्यार्थीको दन्त परीक्षण तथा स्क्रिनिङ पनि गरिएको छ । उनीहरूलाई दन्त मन्जनसहितको पयक पनि उपलब्ध गराइएको छ । कक्षा ७ देखि कक्षा १२ का छात्राहरूलाई रजस्वला तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराइनुका साथै प्याड बनाउने तरिकाको ज्ञान पनि प्रदान गरिएको डा. दाहालले बताउनु भयो । 

यसै अवसरमा इच्छुक शिक्षक शिक्षिकाहरूको पनि दन्त परीक्षण गरिएको छ । यो वडामा रहेका अरू विद्यालयहरू र क्रमशः वडा नम्बर ८, ७,६, ५, ४, ३,२ र १ का सबै विद्यालयहरूमा पनि दन्त परीक्षण, रजस्वला तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराइनुका साथै प्याड बनाउने तरिकाको ज्ञान पनि प्रदान गर्ने कार्यक्रम रहेको छ । 

भीमेश्वर नगरपालिकाभित्र माध्यमिक २०, आधारभूत १० र प्राथमिक २५ वटा विद्यालय रहेका छन् ।