विजयकुमार साह
ढल्केबर, फागुन २८ गते । भारत जालन्धरका ४५ वर्षीय पहलवान मोहमद अलीले आफ्नो शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गर्नुभएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसर सिर्सियामा भइरहेको नौ कुण्डीय अखण्ड धनवर्षा लक्ष्मीनारायण विष्णु महायज्ञ स्थलमा शनिवार उहाँले त्यस्तो खेल प्रदर्शन गर्नुभएको हो । साहसिक खेल देखाउने क्रममा अलीले स्वराज कम्पनीको चार हर्स पावरको ट्याक्टरको चक्का आफ्नो शरीरमाथि चढाउनुभएको थियो । त्यसअघि उहाँले ट्याक्टरको वेगलाई धकेर रोक्नुभएको थियो ।
विगत २८ वर्षदेखि यस्तो साहसिक खेल प्रदर्शन गर्दै आएको अलीले बताउनुभयो । नेपाल र भारतको विभिन्न स्थानमा आयोजना हुने मेला उत्सवमा यो खेल प्रदर्शन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
मेला उत्सवमा यसरी आफ्नो साहसिक खेल प्रदर्शन गरेपछि उहाँलाई सम्मान गरिएको छ ।