बागलुङ समाचारदाता
बागलुङ, फागुन २८ गते । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखोलिएपछि स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन प्रभावित भएको छ।
विद्यार्थी मतदाताको फर्जी परिचयपत्र भेटिएको र निर्वाचनका बेला कतिपय प्राध्यापक तथा कर्मचारीले निर्वाचनलाई प्रभाव पार्ने गरी अवाञ्छित गतिविधि सञ्चालन गरेको आरोप विभिन्न विद्यार्थी सङ्गठनको छ।
सोहीको विरोधमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी ‘विप्लव’ र अखिल संयुक्त प्यानलले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन्।
शनिबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा तोकिएको थियो। निर्धारित समयसम्म आन्दोलनरत विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमति नहुँदा मनोनयनको समय थप्नुपर्ने अवस्था आएको छ।
विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीको विषयमा छानबिन गरिनुपर्ने, निर्वाचन निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नका लागि क्याम्पस प्रशासनले फर्जी परिचयपत्रको छानबिन गर्ने जनाएको छ।
भर्ना नभएका असम्बन्धित विद्यार्थीलाई मतदाता सूचीबाट हटाउनुपर्ने र क्याम्पस प्रशासनले निर्वाचन प्रयोजनका लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नुपर्ने माग राखेका आन्दोलनरत विद्यार्थी सङ्गठनहरूको छ।
स्ववियु निर्वाचन संयोजक भक्तिप्रसाद न्यौपानेले कार्यालयमा तालाबन्दी भएका कारण उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि नबढेको बताउनुभयो। “तालाबन्दी गर्ने विद्यार्थी सङ्गठनसँग छलफल भइरहेको छ,” उहाँले भन्नुभयो, “ताला खुलेपछि राति भए पनि मनोनयन दर्ता गरिनेछ।”
“निर्वाचन कार्यालयमा तालाबन्दी भएका कारणले अहिले विद्यार्थी सङ्गठनसँग बार्ता भइरहेको छ,” निर्वाचन संयोजक न्यौपानेले थप्नुभयो, “तालाबन्दीका कारण मनोनयनको समय बेलुकालाई सारेका छौँ। बेलुकासम्म ताला नखुलेमा निर्वाचन स्थगन गर्नेबारे छलफल हुन्छ।”
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि धवलागिरि बहुमुखी क्याम्पसमा बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यसूची राखिएको थियो।
क्याम्पस प्रशासनले आफ्ना माग पूरा नगरे ताला नखुल्ने अखिल क्रान्तिकारी गण्डकी प्रदेश उपाध्यक्ष जीवन शर्माको भनाइ छ। आफूहरू निर्वाचनको पक्षमा भए पनि प्रशासनले माग पूरा गर्न आलटाल गरेको आरोप उहाँको छ।