• १३ मंसिर २०८१, बिहिबार

नारायणगढ बजारमा पार्किङको समस्या

blog

शालिग्राम नेपाल 

चितवन, फागुन २७ गते । चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ बजारमा पार्किङ समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ। वित्तीय सङ्घ/संस्थादेखि व्यापारिक प्रतिष्ठानको केन्द्रका रूपमा रहेको बजारमा खुला ठाउँको अभाव भएपछि साना तथा ठूला सवारीसाधन रोकेर राख्ने स्थान नहुँदा त्यसको असर व्यापारमा समेत परेको छ। 

निर्माणाधीन छ लेनको सडक सम्पन्न भएपछि पार्किङको समस्या अझ बढेर जाने भएको छ। पुरानो संरचना भएकाले यहाँका घरमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छैन। नयाँ बनेका सीमित घरले मात्र पार्किङको व्यवस्था गरेका छन्। नारायणगढको ओरालोदेखि पुलचोक हुँदै पोखरा बसपार्क, मिलनरोड, कमलनगर, बेलचोक सडक यहाँको मुख्य बजार क्षेत्र हुन्। यही स्थानमा बैङ्क तथा वित्तीय संस्थाका शाखाहरू सहकारी, ठूला व्यापारका थोक तथा खुद्रा पसल सञ्चालनमा रहेका छन्। ती स्थानमा आउने उपभोक्ताले ल्याउने सवारीसाधन तथा सार्वजनिक सवारीसाधन रोकिराख्ने स्थानको अभाव भएको छ। 

नारायणगढको मुख्य मार्गमा छ लेनको सडक बनेपछि अहिले सडकपेटीमा गरिँदै आएको पार्किङ हट्नेछ। अहिलेको सडकपेटीमा स्थानीय रुटमा चल्ने सवारीसाधन सञ्चालनमा आउनेछन्। सडकपेटीमा नै व्यापारिक पसलको सटर रहेको छ। पसलमा आउने ग्राहकले अन्यत्र सवारीसाधन पार्क गरेर पसल जानुपर्ने हुन्छ। त्यसो गर्दा व्यापार नहुने व्यवसायीले बताएका छन्। नारायणगढ बजारमा पार्किङको समस्या वृद्धि भएपछि अब बन्ने नयाँ घरको नक्सा पास गराउँदा अनिवार्य अन्डरग्राउन्ड पार्किङको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो। 

उहाँले भन्नुभयो, “वैकल्पिक पार्किङको व्यवस्था गरेका छौँ तर त्यो सानो भएका कारण बजारको आवश्यकतालाई धान्न सकेको छैन। सरोकारवाला सङ्घ/संस्थासँग छलफल गरेर निष्कर्षमा पुग्ने तयारी भइरहेको छ।” उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पार्किङको अभावमा यहाँको व्यापार प्रभावित भएको बताउनुभयो। आफ्नो सवारीसाधन भएका व्यक्तिहरू पार्किङको अभावमा नारायणगढ बजार प्रवेश नगरी अन्यत्र जाने गरेका छन्, समयमा पार्किङको व्यवस्था गर्न नसके यहाँको व्यापारमा नराम्रो असर पर्ने उहाँले बताउनुभयो। 

पार्किङको समस्या विकराल बन्दै गएपछि महानगरपालिकाले तत्काल कुनै योजना नल्याएको भरतपुर महानगरपालिका नक्सा शाखाका इन्जिनियर कृष्ण मल्लले बताउनुभयो। नयाँ बन्ने घरले अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने योजना ल्याएमा करमा केही छुटको व्यवस्था मिलाएका छौँ, उहाँले भन्नुभयो।

अझै पनि घर निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङलाई अनिवार्य गरिएको छैन। अहिले आफ्नो साधन लिएर कुनै सामान खरिद गर्न जान सकिने अवस्था छैन। इन्जिनियर मल्लले भन्नुभयो, “कार, मोटरसाइकल पार्क गरेर राख्ने ठाउँ पाइँदैन, सडकमा नै राख्नुपर्ने हुन्छ। सडकमा राख्दा जाम हुने अवस्था छ। त्यसैले टेम्पो चढेर बजार जाने गरिएको छ।” 

भरतपुरको ओरालोदेखि पुलचोक हुँदै प्रमुख व्यापारिक क्षेत्रको सडकमा नै साधन पार्क गरिँदै आएको छ। मुख्य सडक विस्तारपछि सडकमा पार्क गर्न नपाइने व्यवस्था हुँदा यहाँको बजार आउनेलाई निजी साधन पार्किङ गर्न आउने दिनमा पनि जटिल हुने देखिएको छ। बजारमा पार्किङको समस्या भएका कारण नै निजी साधन लैजान नसकेको भरतपुरका स्थानीय ध्रुव ढुङ्गानाले बताउनुभयो। घरमा कार राखेर पैदल, सार्वजनिक साधन चढेर जान बाध्य भएका छाैँ, यो समस्या समाधानमा महानगरपालिकाको ध्यान जानुपर्ने उहाँले बताउनुभयो।