अर्जुन काफ्ले
स्याङ्जा, फागुन २६ गते । फलेबास २ थापाठानाका अनिस थापामगरले तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता खुला २० किमीतर्फको उपाधि रक्षा गर्नुभएको छ ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले अयोजना गरेको प्रतियोगितामा साविक विजेता थापाले निर्धारित दूरी एक घण्टा ४.३६ मिनेटमा पार गर्दै प्रतियोगिताको उपाधि रक्षा गर्नुभएको हो । उपाधिसँगै उहाँले ३५ हजार रुपियाँ, पदक र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।
यस्तै नेपाल आर्मीका खेवराज बस्नेत निर्धारित दूरी एक घण्टा ६.५६ मिनेटमा पार गर्दै दोस्रो हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । एक घण्टा ८.१३ मिनेटमा दूरी पार गर्दै आर्मीकै सुवास कार्की तेस्रो हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
२१ वर्षमुनिको १० किलोमिटर पुरुष दौडमा सिरानचोक २ हर्मी गोर्खाका सन्दीप ढकाल पहिलो हुनुभयो । निर्धारित दूरी ४३.३० मिनेटमा पार गर्नुभएका ढकालले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । गोर्खाकै दिनेश बोगटी ४४.२० मिनेटमा नियर्धारित दूरी पार गर्दै दोस्रो हुनुभयो ।
उहाँले २० हजार रुपियाँ पाउनुभयो । यस्तै रुकुम पुथाउत्तरगंगाका मनोज रोकामगर निर्धारित दूरी ४६.५ मिनेटमा पार गर्दै तेस्रो हुनुभयो । उहाँले सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मीरा राईले पुरस्कार प्रदान गर्नुभयो ।