अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन २४ गते । महिला सधैँ पछाडि भन्ने समाजको एउटा बिम्ब हुँदैगर्दा पनि गण्डकी प्रदेशबाटै पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ । हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका –४ बरंजाकी नबिना बुढाथोकी रेफ्री बन्न सफल हुनुभएको हो ।
खेलकुद विधाभित्रको एउटा आत्मरक्षाका लागि सबल मानिने मार्सलआर्ट विधाको तेक्वान्दोका खेलाडी बुढाथोकीले विश्व तेक्वान्दो महासङ्घले संयुक्त अरब इमरेष्ट (युएई) को दुबई सहरमा आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार उत्तीर्ण गरी गण्डकी प्रदेशबाटै पहिलो रेफ्री एवम् नेपालकै तेस्रो महिला रेफ्री बन्नुभएको हो ।
उहाँभन्दा पहिला अन्य दुई जना महिलाले अन्तर्राष्ट्रिय रेफ्री कोर्ष पूरा गर्नुभएको भए पनि गण्डकी प्रदेशबाट तेक्वान्दोमा अन्तर्राष्ट्रिय रेफ्री बन्ने नबिना पहिलो हुनुहुन्छ । हिमाली जिल्ला म्याग्दीको बरंजामा २०५३ भदौ १७ गते जन्मिएकी बुढाथोकीले २०६५ देखि तेक्वान्दो खेल्न थाल्नुभएको थियो ।
ब्ल्याकबेल्ट चौथो डान बुढाथोकी अहिले काठमाडौं विश्व विद्यालयबाट प्राविधिक र व्यावसायिक शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । अध्ययन र खेलकुद सँगसँगै अगाडि बढाएकी उहाँले प्रतियोगितामा सहभागितालाई बिटमार्दै प्राविधिक क्षेत्रमा अगाडि बढ्दै अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स प्राप्त गर्नुभएको हो ।
धनगढीमा भएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्दै ४६ केजी मुनी तौल समूहमा सहभागिता जनाउनु भएको थियो । उहाँले द वर्ल्ड तेक्वान्दो हाङमादाङ–२०१६ को एसियन कन्टिनेन्टल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गर्नुभएको थियो ।
त्यस्तै, काठमाडौंमा सन् २०१० मा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा ५१ केजी मुनी तौल समूहमा पनि दोस्रो स्थान हासिल गर्नुभएको थियो । २०७५ देखि तेक्वान्दोको रेफ्रीका रूपमा काम गर्न थाल्नुभएको थियो ।
बुढाथोकीले भन्नुभयो, “१३ औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग) मा प्राविधिको रूपमा खेल सञ्चालन गरेकी थिएँ । हाल नेपालमा हुने तेक्वान्दोका प्राय सबै खेलहरूमा मेरो प्राविधिकको भूमिका रहँदैआएको छ ।”
नेपाल तेक्वान्दो सङ्घमा प्राविधिक शाखाको सह–अधिकृतका रूपमा कार्यरत बुढाथोकीले गत असोजमा पोखरामा भएको तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा नवौँ राष्ट्रिय खेलकुदमा प्राविधिक टोलीको नेतृत्व गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले बुढाथोकीको सफलताले समग्र प्रदेशकै नाम उच्चो गरेको बताउनुभयो । हिमाली जिल्ला म्याग्दीको बरंजामा जन्मिएर तेक्वान्दोमार्फत आफू, आफ्नो जिल्ला र प्रदेश अनि देशकै नाम चिनाउँदै अन्तर्राष्ट्रिय रेफ्री हुन सफल बुढाथोकी देशकै गहना भएको बताउनुभयो ।