• १३ साउन २०८१, आइतबार

कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा : मन्त्री मोदी

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी । फाइल तस्बिर

काठमाडौं, फागुन २४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्रालयमा आज (बुधबार) सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरू काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

वि.सं २०७५ माघदेखि संसद्मा विचाराधीन रहेको निजामती सेवा विधेयक छिट्टै पारित गर्ने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । “विधेयकमा मन्त्रालयको दृष्टिकोण दिइसकेका छौँ, कर्मचारी प्रशासन अब तहगत प्रणालीमा चल्ने भएको छ, कर्मचारी ६० वर्षे उमेर हदसम्म सेवामा बहाल रहने भएका छन्”, उहाँले भन्नुभयो ।

उहाँले दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको उहाँको भनाइ छ ।

देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भई आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी पनि कार्यक्रममा उहाँले गराउनुभयो ।

निजामती अस्पतालमा सुधार गर्ने विषयलाई पनि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री मोदीको भनाइ छ । मन्त्रालयले निजामती अस्पताललाई सातै प्रदेशमा विस्तार गर्ने, राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, राष्ट्रिय व्यक्तित्व, शिक्षक र सहिद एवम् बेपत्ता परिवारका सदस्यलाई पनि निजामती अस्पतालमा छुटमा उपचार गर्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको जानकारी उहाँले बताउनुभयो ।

मन्त्रालयको पुनः संरचना गरी कर्मचारी प्रशासनलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने योजनालाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्रालयलाई चुस्त रूपमा अघि बढाउन सबैबाट सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता मन्त्री मोदीको थियो । रासस