• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरका प्रमुख शाह र पूर्व मन्त्री बस्नेतबीच भेटवार्ता

blog

भक्तपुरमा भेटवार्ता गर्नुहुँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र पूर्व मन्त्री एवम् नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य महेश बस्नेत ।

भक्तपुर, फागुन २४ गते। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र पूर्व मन्त्री एवम् नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच भेटवार्ता भएको छ। भेटका लागि प्रमुख शाह भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित नेता बस्नेतको निवासमा पुग्नुभएको हो।

नेता बस्नेतको निजी सचिवालयका अनुसार उहाँहरुबीचको भेटघाटमा काठमाडौं र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवै पक्षले खेल्नुपर्ने भूमिका एवम् भक्तपुरको विकास देशकै लागि उदाहरणीय र अनुकरणीय भएको विषयमा छलफल भएको छ। 

काठमाडौं प्रमुख शाहले पुनः निर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथीभरा मन्दिर, निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्र लगायतको अवलोकनसमेत गर्नुभयो। 

भेटघाटमा वर्तमान राष्ट्रिय राजनीति, मनोहरा कोरिडोर निर्माण र त्यहाँका समस्या, मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान, सुकुम्वासी बस्तीको समस्या समाधानको उपाय, कोटेश्वर चोकमा आकाशे पुल निर्माण, हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा, सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरोन्नति, भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरणको विषयमा छलफल भएको छ। 

भेटमा भक्तपुरको पर्यटकीय एवम् धार्मिक क्षेत्रको विकास, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण र सहकार्य र वातावरण प्रदूषण नियन्त्रण लगायत मुख्य १५ वटा शीर्षकमा छलफल भएको छ। प्रमुख बालेन्द्रले काठमाडौं महानगरमा भक्तपुर जिल्लामा भएको मोडल अनुरूपको विकास हुनुपर्ने बताउँदै आउनुभएको छ।