• १३ साउन २०८१, आइतबार

दुई महिना अनिवार्य खट्न एमाले ओखलढुङ्गाको निर्देशन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन २४ गते । नेकपा (एमाले) ओखलढुङ्गाले जिल्ला कमिटीका सबै नेतालाई दुई महिना कार्यक्षेत्रमा खटेर पार्टीको काम गर्न निर्देशन दिएको छ । पार्टीले देशव्यापी रूपमा सञ्चालन गरिरहेको मिसन ग्रासरूट कार्यक्रम अन्तर्गत पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियानलाई प्रभावकारी बनाउन सबै जिल्ला कमिटी सदस्य र मातहत कमिटीमा आबद्ध नेतालाई कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएको हो । 

पार्टी कामलाई व्यवस्थित गर्न र साङ्गठनिक गतिविधिलाई तीव्र बनाउन जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी सदस्यको कार्यविभाजन गरी आ–आफ्नो पालिकामा, पालिका कमिटीले बनाएको योजनाअनुसार अभियान सञ्चालन गर्ने निर्णय गरेकाले सोहीअनुसार अभियान अवधिभरि दुई महिना कार्यक्षेत्रमा परिचालित भएर पार्टी काम गर्न गराउन सर्कुलर गरिएको एमाले अध्यक्ष शङ्कर कटुवालले बताउनुभयो । 

अभियानमा धेरै जिल्ला कमिटी सदस्यहरू कार्यक्षेत्रमा नदेखिएको गुनासोसहितको रिपोर्टिङ जिल्ला कमिटीलाई पालिका कमिटीबाट प्राप्त भएपछि विशेष निर्देशन जारी गर्नुपरेको अध्यक्ष कटुवालको भनाइ छ । 

पार्टीको यो राष्ट्रिय अभियान, पालिका केन्द्रित अभियान भएको र कामको मुल्यांकनसहितको अभिलेख पालिका तथा जिल्ला कमिटीमा रहने सो दलले जनाएको छ । एमाले ओखलढुङ्गाले सबै नेता कार्यकर्तालाई अभियानमा लाग्न अपिल गरेको छ । अहिले एमालेको जिल्लाभर मिसन ग्रासरुट अभियान जारी छ ।