• १५ चैत २०८०, बिहिबार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर

blog

काठमाडौँ, फागुन २४  गते । टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाले धापासी स्वास्थ्य चौकी र ग्रीनलाइफ हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिला आन्दोलनबाट प्राप्त अधिकारलाई रक्षा गर्ने प्रमुख जिम्मेवारी महिलाकै भएको बताउनुभयो । महिला आन्दोलनका कारण देशले महिला राष्ट्रपति पाएको उहाँको भनाइ थियो ।

“मङ्गलादेवी सिंह, साहना प्रधानलगायतले नेपालमा महिला हकअधिकार रक्षाका लागि सङ्घर्ष गरेको कारण अहिले देशका हरेक स्थानमा महिला सहभागिता बढेको छ”, उहाँले भन्नुभयो । टोखा नगरपालिकाले स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उहाँको भनाइ थियो । टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले महिला सशक्त भएमात्र देशको विकास हुने बताउनुभयो ।

तेत्तिस प्रतिशत अधिकार महिला आन्दोलनका कारण प्राप्त भएको उहाँको भनाइ थियो । उपप्रमुख तामाङले नगरपालिकाभित्रका महिलाको निरन्तर स्वास्थ्य परीक्षण गर्ने बताउनुभयो । ग्रीनलाइफ हेल्थ केयरका डा क्षितिज सापकोटाले ग्रीनलाइफ हेल्थ केयरलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्न लागिएको बताउनुभयो ।

टोखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नरोत्तम रानाले निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत स्त्रीरोग विशेषज्ञ परामर्श, पाठेघर मुखको क्यान्सर जाँच, प्रयोगशाला जाँच, भिडियो एक्स-रे र औषधि वितरण निःशुल्क रूपमा गरिने जानकारी दिनुभयो । आज हुने निःशुल्क महिला स्वास्थ्य जाँचमा टोखाभित्रका दुईसय १४ महिलाले नाम दर्ता गरेको महिला शाखाकी अधिकृत विमला वाग्लेले जानकारी दिनुभयो ।   रासस