• १२ मंसिर २०८१, बुधबार

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’

blog

बझाङ, फागुन २४ गते । केदारस्यु गाउँपालिका–४, शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन। १० कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ।

महिनाबारी भएका बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ। “सेनेटरी प्याडका बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौं। अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि ग-यौँ। निकै सहज भएको छ,” उहाँले भन्नुभयो। उहाँलाई मात्रै होइन, शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ। विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने गरेको शिक्षादय माविका स्वास्थ्य शिक्षक शैलेन्द्रबहादुर सिंहले बताउनुभयो। 

“किशोरी सुरुमा सेनेटरी प्याड माग्नका लागि शिक्षिकाको बाटो कुर्थे,” उहाँले भन्नुभयो, “अहिले किशोरीले यो विषयमा धेरै नै ज्ञान लिइसकेका छन्। सूचना केन्द्रमा गएर विभिन्न किशोरीसम्बन्धी कुरा सिक्ने र आवश्यकताअनुसार सेनेटरी प्याड लिने गर्छन्।” विद्यालयका प्रधानाध्यापक गगनबहादुर विष्टका अनुसार एकीकृत विकास समाज नेपालले विगत चार वर्षदेखि मासिक रूपमा वितरण गर्ने गरेको किशोरमैत्री सामग्रीबाट छात्रालाई सहयोग पुगेको छ। “यौन शिक्षा, किशोरी शिक्षा, बाहिरी शिक्षाबारे छात्रा धेरै जान्ने भएका छन्,” प्रधानाध्यापक विष्टले भन्नुभयो, “पहिले महिनाबारीको समयमा विद्यालयमा नै नआउने किशोरी अहिले नियमित भएका छन्। विद्यार्थी एक आपसमा मात्रै नभई अरूसँग पनि खुलेर कुरा गर्न सक्ने भएका छन्।”

शिक्षादयमा अहिले छात्रा र छात्रा बराबरीको सङ्ख्यामा छन्। त्यसमध्ये पनि किशोरावस्थाका छात्रा सय जनाभन्दा बढी छन्। “पहिले सात कक्षा माथिका किशोरी हरेक दिन १०/१२ अनुपस्थित हुन्थे,” उहाँले भन्नुभयो, “विद्यालय नआएपछि महिनावारी भएको हुन सक्ने अनुमान गथ्र्यौं। आजभोलि भने सबै किशोरी नियमित भएका छन्।”

जिल्लामा एकीकृत विकास समाज नेपाल (आईडीएस)ले शिक्षादयमा मात्रै नभई जिल्लाका ४४८ विद्यालयमै सरसफाइसम्बन्धी काम गरिरहेको छ। धारा बनाउने, शौचालय निर्माण गर्ने, मर्मत गर्ने, सूचना केन्द्र स्थापना गर्नेलगायत काम गरिरहेको  समाजका जिल्ला संयोजक सुरेन्द्र जैरूले जानकारी दिनुभयो।