धनगढी समाचारदाता
धनगढी, फागुन २४ गते । एक महिना आठ दिनसम्म होरी पर्व मनाउने राना थारू समुदायमा मङ्गलबारबाट ‘मरी होरी’ सुरु भएको छ। चीर दहनपछि ‘मरी होरी’ सुरु हुने गरेको सो समुदायका अगुवाले बताउने गरेका छन्। यसभन्दा अघि राना समुदायले ‘जिन्दा होरी’ मनाउँदै आएको थियो। जिन्दा होरीका बेला राति होरी नाच नाचेर रमाउने गरेको राना थारू समुदायका बुद्धिजीवी नारायण रानाको भनाइ छ। “चीर दहनपछि मरी होरी सुरु हुन्छ र दिउँसो होरी नाच नाचिन्छ,” उहाँले भन्नुभयो।
कैलाली, कञ्चनपुरमा बसोबास गर्दै आएको राना थारू समुदायको होरी पर्व सबैभन्दा ठूलो पर्व हो। अरूको होली सोमबारबाट सकिए पनि राना थारूको होरी पर्व एक सातापछि मात्रै सकिनेछ। यसैगरी राना थारूको होरी अरूको होलीभन्दा एक महिना अगाडिबाट सुरु हुने गर्दछ।
यसैबीच फागु मनाउने क्रममा कागजपत्र नबोकी सवारीसाधन चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार फागुलाई लक्षित गरेर जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको थियो। जिल्लाभरि २८ वटा चेकपोस्टमार्फत सवारी जाँच गरिएको थियो।
बाटो छेक्दै, पैसा माग्दै फागुको नाममा बाटो छेकेर यात्रुसँग रकम असुल्ने विकृतिको सुरु भएको छ। यस्तो कार्यमा बालबालिका बढी संलग्न छन्। उनीहरूले डोरीले बाटो छेकेर सवारीसाधन रोक्दै बटुवासँग रकम असुली गरेका थिए।
होलीमा रमाइलोका लागि बालबालिकाले बाटो रोकेर पैसा माग्नु गैरकानुनी कार्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। “बाटो रोकेर रकम असुल्न मिल्दैन,” जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भन्नुभयो, “तर, पनि बालबालिका यस्तो कार्यमा संलग्न भएका देखिन्छन्।” जिल्ला प्रशासन कार्यालयले होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ दल्ने, लोला हाल्ने, अवाञ्छित क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ।
घोडाघोडी समाचारदाताका अनुसार तराईमा खेलिने होली अर्थात् फागुपर्वमा विकृति बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रबाट बसाइँसराइ गरी तराई झरेकाले परम्परागत फागु खेल्न थालेका छन्।
कैलालीका लम्कीचुहा, टीकापुर, गौरीगङ्गा, गोदावरी, घोडाघोडीलगायतका नगरपालिकामा बैतडी, डडेल्धुरा, दार्चुला, डोटीलगायतका जिल्लाबाट बसाइँ सरेर आएका स्थानीयवासीले पहाडमा मनाउने गरेको फागुपर्व संस्कृति ब्युँताएका छन्।
घोडाघोडी नगरपालिका–३, निम्दीका स्थानीय गणेश विष्ट बैतडीबाट बसाइँ सरी आउनु्भएको हो। उहाँले पहाडमा १५ दिनसम्म फागु खेलेर मनाएको स्मरण गर्दै तराईमा पनि आफूजस्तै मनमिल्ने साथीभाइसँग फागु खेलेको बताउनुभयो। उहाँका अनुसार फागुपर्वको धार्मिक तथा सांस्कृतिक महत्व होलीका दहनसँग रहेको छ।
फागुपूर्णिमा मनाउने चलनले सबै जनमानसमा एउटा अमिट छाप छोडेको विभिन्न ठाउँ समुदायअनुसार विभिन्न तरिकाले यो पर्व मनाउने गरिएको सांस्कृतिक महत्व रहेको छ। फागुपर्व मनाउनका लागि घोडाघोडीमा समूह बनाएर एउटै पोसाकमा छ दिनसम्म फागु खेलेको विष्टले बताउनुभयो। साथीमाझ एकआपसमा होली खेल्दै गर्दा भेटिनु भएका विष्टले भन्नुभयो, “चेलीबेटीले तीजको गीत गाएजस्तै विभिन्न देवीदेवताको कथा वेदना, बिलौना फागखेलमा समेटिन्छन्, एकअर्काप्रति सद्भाव राख्दै आज अन्तिम दिन अनुहारमा रङ दलेर हाम्रो फागु सकिन्छ।”
बैतडी सुर्नयाका सञ्जय कुँवरले पनि तराई झरेको धेरै समयपछि पहाडको फागु मनाउन पाउँदा खुसी लागेको बताउुनभयो। पहाडमा पहिलापहिला १५ दिनसम्म समूहगत रूपमा फागुपर्व फाग गाउँदै मनाइने गरे पनि तराईमा एक साता मनाउने गरिएको छ। सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिका घरघर गई खेल्दा स्वैच्छिक सहयोग हुने गर्दछ। सहयोग रकमलाई सामाजिक कार्यमा खर्च गरिने सचिव धामीले जानकारी दिनुभयो।