• १२ मंसिर २०८१, बुधबार

एसिएन क्रस कन्ट्री दौडमा नेपाललाई दुई स्वर्ण

blog

च्याम्पियनसिपको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन २३ गते । १६औं एसियन क्रस कन्ट्री दौड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, चार रजत र दुई कांस्य पदक जितेको छ ।

गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मंगलबार आयोजित च्याम्पियनसिपमा नेपालले पुरुष सिनियरको ब्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेको हो । यस्तै नेपालको सिनियर महिला र जुनियर महिलामा रजत र जुनियर पुरुषतर्फ टिम स्पर्धामा कांस्य पदक जितेको छ ।

नेपाल एथलेटिक्स संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुष सिनियर १० किमि दौडमा दीपक अधिकारीले स्वर्ण जित्नुभएको हो । उहाँले निर्धारित दुरी ३३ मिनेट ५२.०७० सेकेन्डमा पूरा गर्नुभएको थियो ।


जापानका डाइची कामिनोले रजत र नेपालका मुकेशबहादुर पालले कांस्य जित्नुभयो । सिनियर पुरुष टिम स्पर्धामा नेपालका दीपकर मुकेशसँगै दीपक सुहाङले स्वर्ण जित्नुभयो । यस स्पर्धामा इरानले रजत र भारतले कांस्य पदक जितेको छ ।

च्याम्पियनसिपको महिला सिनियर नेपालकी राजपुरा पछाईले रजत जित्नुभयो । महिला सिनियर टिमतर्फ पनि नेपालले रजत जितेको छ । यस स्पर्धामा नेपालका रापुरा पछाई, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठ हुनुहुन्थ्यो । 

यस्तै महिला जुनियरमा नेपालकी राममाया बुढाले रजत जित्नुभएको हो । जुनियर टिम स्पर्धामा राममाया बुढा, राज्य लक्ष्मी रावल र विमला कार्कीले नेपाललाई रजत दिलाउनुभयो । जुनियर पुरुष्मा नेपालका शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरे कांस्य जित्नुभएको छ । 

च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा ११ राष्ट्रका ६५ खेलाडीको सहभागिता रहेको थियो । यसअघि प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको थियो ।

विजेतालाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष दालानलगायतले पुरस्कार प्रदान गर्नुभयो ।