गोरखापत्र अनलाइन
धादिङ, फागुन २३ गते । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुराउन सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ ।
धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उहाँले चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाकी कार्यभार टुङ्गोमा पुर्याउने बताउनुभएको हो ।
अघिल्लो संसदमा विधेयक पेश भए पनि टुङ्गोमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले यस पटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले सङ्क्रमणकालीन न्यायको काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माले बताउनुभयो ।
शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा विभिन्न चलखेल सुरु भएको उल्लेख गर्दै उहाँले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रुपमा भन्दा शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायभित्र रहेर टुङ्ग्यानुपर्ने बताउनुभयो ।
राजनीतिक सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले गाउँगाउँका जनता जगाउन एफएम रेडियोको भूमिका झन महत्त्वपूर्ण रहेको बताउनुभयो । मिडियाको यो शक्ति अब जनताको जीवनस्तर परिवर्तनमा लगाउनुपर्ने बताउनुभयो ।
एक अर्को प्रसङ्गमा मन्त्री शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्र राष्ट्रहरुसितको सन्तुलित परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको बताउनुभयो । कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितविपरीत अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
राजनीतिक सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले गाउँगाउँका जनता जगाउन एफएम रेडियोको भूमिका झन् महत्त्वपूर्ण रहेको बताउनुभयो । मिडियाको यो शक्ति अब जनताको जीवनस्तर परिवर्तनमा लगाउनुपर्ने बताउनुभयो ।
राजनीतिक परिवर्तनसँगै संवैधानिक र कानुनीरुपमा धेरै परिवर्तन गरिएको भए पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको उल्लेख गर्दै उहाँले कानुनी सचेतताका लागि सञ्चारमाध्यमले आफ्ना सामग्री उत्पादन र प्रकाशन प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपालमा धेरै मातृभाषा र मौलिक संस्कृति सङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री शर्माले मातृभाषाप्रति समुदायको सकारात्मक धारणा विकास गर्दै यसको प्रयोगमा व्यापकता ल्याउन सामुदायिक रेडियोलगायत सबै सञ्चार माध्यमले मातृभाषाका कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो राजनीतिक परिवर्तनपछि हामीले संविधानमै सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनु महत्त्वपूर्ण उपलब्धि भएको औँल्याउँदै उहाँले भन्नुभयो, ‘‘मातृभाषालाई प्रयोगमा ल्याएर सबै भाषाभाषीलाई व्यापक बनाउनु आजको आवश्यकता हो, यसमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ ।
युनेस्कोको सहयोगमा रेडियो धादिङले आयोजना गरेको सम्मेलनमा देशभरिका सामुदायिक रेडियोबाट प्रतिनिधिमूलक सहभागिता छ । सम्मेलनमा पाँच वटा शीर्षकमा समूहगत छलफल हुने आयोजक रेडियो धादिङका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो ।