बुलबुले समाचारदाता
सुर्खेत, फागुन २३ गते । सल्यानको दार्मा गाउँपालिकाले स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ। ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई घरमै पुगेर सेवा दिन थालिएको हो। घरदैलोमा स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत ‘नागरिकसँग स्वास्थ्यकर्मी’ भेटघाट गर्ने गरिएको हो।
पालिकाले यो कार्यक्रम विशेष गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो। नागरिकले घरआँगनमै स्थानीय सरकार आएको अनुभूति गर्न पाऊन् भनेर कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ।
अधिकांश नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो। पाठेघर खस्ने समस्या पहिचान र उपचार गर्न गाउँघरमै शिविरसमेत सञ्चालन गर्ने गरिएको जनाइएको छ। पालिकाभर २९३ जनामा पाठेघरको मुखको क्यान्सर रोगको परीक्षण गरिएकोमा आठ जनामा रोग फेला परेको थियो।
पालिकाले ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पु-याउन निःशुल्क एम्बुलेन्स र निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको छ। दीर्घरोगीलाई घरमै पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचारसमेत गर्ने गरिएको छ। दम, सुगर, मधुमेहलगायत नियमित औषधि खानुपर्ने बिरामीको स्वास्थ्य जाँचसँगै उपचारसमेत गर्ने गरिएको हो। त्यति मात्रै होइन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पालिकाले सबै वडाका स्वास्थ्य चौकीलाई व्यवस्थित गरेको छ।
जुम्लाको सिञ्जा गाउँपालिकाले स्वास्थ्य चौकीमा सुत्केरी हुन प्रेरित गर्दै ‘शून्य घर सुत्केरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। टोलटोलमा स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ। कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो। उहाँका अनुसार अहिले सबै आमा सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेका छन्।
योभन्दा पहिला असुरक्षित तरिकाले घरमै सुत्केरी हुने गरेका थिए। जसले गर्दा मातृ तथा शिशुको रोगको पहिचान नै हुन नसकी मृत्यु हुने गरेको थियो। मातृ तथा शिशु मृत्युदर शून्य पार्ने उद्देश्यले पालिकाका छवटै वडाका प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत व्यवस्थित बनाइएको छ। बिरामीको सहजताका लागि स्ट्रेचर तथा निःशुल्क एम्बुलेन्सको समेत प्रबन्ध पालिकाले मिलाएको अध्यक्ष धितालले जानकारी दिनुभयो।
पालिकाले छोटो दूरीका लागि स्ट्रेचर तथा लामो दूरीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीले घरमै पुगेर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने गरेका छन्। भौगोलिक दृष्टिले विकट बस्तीमा कार्यक्रम प्रभावकारी मानिएको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य अवस्था तथा महिलालाई गर्भको अवस्थाबारेमा समयमै जानकारी नहुँदा ज्यान गुमाउनुपर्ने बाध्यता भएपछि गाउँपालिकाले उक्त अभियानको थालनी गरेको अध्यक्ष धितालले बताउनुभयो।
दैलेखको आठबिस नगरपालिकाले पनि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसूतिगृह) सञ्चालन गर्न थालेको छ। बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि व्यवस्थित नहुँदा नागरिकले सेवा लिन खासै रुचाएका थिएनन्। अहिले स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउँदा (प्रसूतिगृह)मा सेवा लिनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भौतिक संरचनासँगै दक्ष जनशक्तिलाई समेत ध्यानमा राखिएको नगरप्रमुख तर्क बडुवालले बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य संस्थाका सेवाबाट नागरिक सन्तुष्ट बनेका छन्।
यसरी स्थानीय सरकारले आम नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पु-याउन थालेका छन्। आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न स्थानीय सरकारले कार्यक्रम विस्तार गर्दै लगेका छन्। स्थानीय सरकारको सक्रियतामा गाउँघरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उचित संरचना निर्माण भएपछि ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न वर्गलाई सहज भएको सेवाग्राहीले बताएका छन्।