• १० मंसिर २०८१, सोमबार

दक्षिण कोरिया उडानका लागि प्रक्रिया अगाडि

blog

काठमाडौँ, फागुन २३ गते । विदेशी हवाई कम्पनीले भाडामा गरेको एकाधिकार भत्काउन नेपाल वायुसेवा निगमले नेपाल–दक्षिण कोरिया सिधा उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

दक्षिण कोरिया जाने यात्रुले अत्यधिक महँगो भाडा तिर्नुपरेको छ। सरकारले यो रुटको भाडादरमा हस्तक्षेप गर्नु आवश्यक रहेको आवाज उठिरहेका बेला निगमले दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडानको प्रक्रिया अगाडि बढाएको हो। 

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको निगमका सहप्रवक्ता गणेश घिमिरेले जानकारी दिनुभयो। समितिमा निगमको सेफ्टी, इन्जिनियरिङलगायत विभागको प्रतिनिधित्व रहेको छ। दक्षिण कोरियामा सिधा उडान सञ्चालनका लागि सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो। उहाँले भन्नुभयो, “उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फ्रास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट)अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ। सोहीको तयारीका लागि निगमका तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ।”

निगमले दक्षिण कोरियामा सिधा उडान भरे ७० हजारदेखि बढीमा एक लाख ५५ रुपियाँसम्म भाडादर हुनेमा हाल विदेशी हवाई कम्पनीले त्यसको दोब्बर भाडा लिइरहेकाले निगमले सिधा उडान सुरु गर्नुपर्नेबारे गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो। मन्त्रालयमा भएको छलफलमा हाल काठमाडौँबाट भन्दा भारतको नयाँदिल्लीबाट कोरियाको भाडा सस्तो रहेकाले विदेशी हवाई कम्पनीको एकाधिकार तोड्न राष्ट्रिय ध्वजावाहक अगाडि आउनुपर्ने र नेपालले आफ्नै रणनीति बनाउनुपर्नेबारे छलफल भएको थियो। हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमले अन्तर्राष्ट्रिय उडानको गन्तव्य विस्तार गरे हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजावाहकको दायित्व पनि पूरा हुने देखिएको छ। त्यस्तै साधारणले सहज र सस्तोमा टिकट पाउने विश्वास गरिएको छ। हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइड बडी ए–३३० जहाज रहेका छन्।

महिलाको नेतृत्वमा उडान

दुई जना महिला विमानचालकले नेपाल वायुसेवा निगमको हवाईजहाज उडाउनुभएको छ। 

निगमका अप्रेसन विभाग प्रमुख दीपु जुहारचनले आइतबार पाइलट भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले अन्तर्राष्ट्रिय उडान भर्नुभएको जानकारी दिनुभयो। उहाँले काठमाडौँ–दुबईको अन्तर्राष्ट्रिय उडानमा पहिलो पटक जहाजको नेतृत्व महिलाले गरेर आफूलाई अब्बल सावित गरेको बताउनुभयो।