लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २२ गते । मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष जनकपुरधाममा आयोजना गर्दैआएको दुई दिवसीय होरी (होली) महोत्सवको आज पहिलो दिन होली गायनसहितको प्रतियोगिता हुँदैछ । महोत्सवको दोस्रो दिन अर्थात् भोलि मंगलबार महामूर्ख सम्मेलनको आयोजना हुनेछ ।
मिनापले आयोजना गर्दैआएको होरी महोत्सवको आज सोमबार पहिलो दिन डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा परिचर्चा, हास्य कवि गोष्ठी, निश्चित मापदण्डअनुसार होली गायन, उत्कृष्टताको छनोटसँगै पुरस्कार वितरण गरिनेछ भने भोलि मङ्गलबार विशिष्ट शैलीमा उद्घाटन, होली गायन, मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा उपपहार वितरण गरिने मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।
मिनापले आयोजना गरेको महोत्सवमा मधेश प्रदेशका आठ वटै जिल्लाका प्रतियोगीलाई सहभागी गराउने योजना रहे पनि अहिलेसम्म पाँच जिल्लाले मात्र सहभागिता जनाएको छ । ती पाँच जिल्लामध्ये प्रत्येक जिल्लाबाट दुई–दुई टोलीगरी जम्मा दश टोली सहभागिता रहनेछ । प्रत्येक टोलीमा दश–दश जनागरी सय जना प्रतियोगीको सहभागिता रहने महासचिव मल्लिकले जानकारी दिनुभयो ।
उक्त होरी महोत्सवमा मैथिली भाषामा शपथ लिनुभएका प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको मल्लिकले जानकारी दिनुभयो । मिनापले वि.सं. २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजना गर्दैआएको छ । प्रथम पटक २०६१ मा महामूर्ख सम्मेलनको आयोजना हुँदा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुरले पाउनुभएको थियो ।
यस्तै, २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ मा नेता शत्रुघन महतो, २०७२ मा शमसानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चामा आउनुभएका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
त्यस्तै, २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले) ले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।
त्यस्तै, २०७६ मा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र २०७८ मा अर्थविद् डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
यस सम्मेलनमार्फत विभिन्न प्रतिष्ठित व्यक्तिलाई उपाधि प्रदान गरिन्छ । उपाधि पाउनेको नाम भने गोप्य राखिन्छ । सम्मेलनको दिन उपाधिसँगै नाम सार्वजनिक गरिन्छ । मिनापले यस पटक आयोजना गरेको १५ औंं होली महोत्सव र २७ औँ महामूर्ख सम्मेलन हो ।