• १२ मंसिर २०८१, बुधबार

सवारी जाँचमा कडाइ

blog

डोल्पा समाचारदाता

डोल्पा, फागुन २२ गते । हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी जाँचमा कडाइ गरेको छ। सवारी जाँचमा कडाइ गरिएपछि राजस्वमा पनि वृद्धि भएको छ। 

जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हबलदार विनोद थापाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म छ लाख ३२ हजार रुपियाँ राजस्व उठेको छ। सो अवधिमा ट्रक ४६, जिप तीन सय, २३ ट्याक्टर एक र मोटरसाइकल १७६ वटालाई कारबाही गरिएको उहाँले बताउनुभयो। 

त्यसैगरी डोल्पा–जाजरकोट सडक खण्डमा सञ्चालन हुँदै आएका विभिन्न सावरीसाधनको अवस्था पहिचानका लागि यान्त्रिक परीक्षणसमेत गरिएको छ। ट्राफिकले गाडी मर्मतमा सम्पूर्ण ज्ञान भएका मेकानिकल समेतको टोली खटाएर डोल्पाको त्रिपुराकोटबजार कालागौँडा र दुनै बजारमा पर्ने सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षण गर्ने क्रममा २४ वटा सवारीसाधनको अवस्था नाजुक रहेको, ब्रेक नभएको, साइड ऐना नभएको पाइएको छ।

यस्तै ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्म जिल्लामा ११ वटा सवारी दुर्घटना भएका छन्। विभिन्न समयमा भएका दुर्घटनामा परेर छ पुरुष, एक महिला र एक बालक गरी आठ जनाको मृत्यु भएको छ। डोल्पा र रुकुम जिल्लाको सीमा क्षेत्र साङ्लेदेखि सदरमुकाम दुनैसम्मको आन्तरिक सडकखण्डमध्ये भेत्तीमा पर्ने बतासेडाँडा, जुफाल डाँगीवाडाको घुम्ती, साङ्लेभीर र सिउडेनी घुम्तीमा बढी दुर्घटना हुने गरेको छ।

उच्च दुर्घटनास्थल भए पनि सडक विभागले जोखिम सडकखण्ड पहिचान नगरेर सडक जोखिम सूचना टाँससमेत नगरेकाले पनि सवारीचालकलाई समस्या भएको ट्राफिक कार्यालयको भनाइ छ। त्रिपुराकोट दुनै जुफाल र खदाङमा गरी चार स्थानमा ट्राफिक सङ्केत चिह्न तथा सूचना पार्टी राखिएको समेत कार्यालयले जनाएको छ । सडक सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, स्कुल कार्यक्रम, चालक, सहचालक र पैदलयात्रीलाई समेत ट्राफिक नियमसम्बन्धी प्रशिक्षणलगायतका विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको ट्राफिकले जनाएको छ।