नवलपरासी समाचारदाता
कावासोती, फागुन २२ गते । होमियोप्याथिक प्रविधिको विश्वास बढ्दै जान थालेपछि नवलपुरको देवचुली नगरपालिकाको रजहरमा १४ वर्षअघि स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालयप्रति बिरामीको विश्वास बढ्दै गएको छ।
रजहरमा स्थापित सामुदायिक प्राकृतिक चिकित्सालय अहिले बिरामीका लागि सबैभन्दा भरपर्दो होमियोप्याथिक उपचारको गन्तव्य नै बन्न पुगेको चिकित्सालयकी निर्देशक आजाद पुरीले बताउनुभयो।
यो चिकित्सालयमा अहिले एक सय बिरामीका लागि बेड रहेका छन् सबै बेड भरिभराउ छन् भने यहाँ अकुपन्चर र फिजियोथेरापी प्रविधिबाट बिनाऔषधि उपचार गराउने पद्धतिको अनुसरण गरिएको डा. पुरी बताउनुहुन्छ।
नेपालको जुनसुकै ठाउँबाट समेत बिरामी उपचार गर्न आउने गरेका छन् भने ठूला अस्पतालमा निको हुन नसकेका बिरामी होमियोप्याथिकको प्रविधिबाट उपचार गर्न आउने गरेका छन्।
यहाँ आएका बिरामीले उपचारबाट राम्रो भएको र विशेष गरी नसा, ढाड दुख्नेलगायतका प्रेसर, सुगरबाट पीडितका लागि वरदान नै साबित भएको दाङ जिल्लाबाट आउनुभएका बिरामी शरद पौडेल बताउनुहुन्छ।
अहिले पनि चिकित्सालयलाई विश्वविद्यालयका रूपमा विस्तार गर्ने काम भइरहेको छ। यहाँ आउने बिरामी होमियोप्याथिक विधिबाट गरिने उपचार सफल भएको भन्दै खुसी भएका छन्।
गण्डकी प्रदेश सरकारबाट प्राप्त एक करोड रुपियाँको लागतमा ४० कोठाको भवन निर्माण अघि बढेको छ। तीन सय बेड क्षमता भए पनि उपचार कक्ष सानो
भएकाले आधुनिक उपचार भवन निर्माण गर्न लागेको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो।
चिकित्सालयले यसै वर्षदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा तीनवर्षे योग र प्राकृतिक चिकित्सामा डिप्लोमा कोर्स सञ्चालन गर्ने तयारी गरेको छ।
सोपश्चात् मेडिकल कलेजको अवधारणामा अघि बढ्ने अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताउनुभयो। यसै वर्ष तीन सय जना अट्न सक्ने गरी योग ध्यान कक्ष निर्माण सुरु गरिने उहाँले जानकारी दिनुभयो।
आवासीय सुविधासहित उपचार गरिने प्राकृतिक चिकित्सालयमा बर्सेनि चार हजारभन्दा बढीले उपचार गराएका छन्। समुदाय र सरकारको सहयोगमा चिकित्सालयलाई तीन सय शय्या क्षमतामा सञ्चालन गर्ने योजनाअनुरूप अघि बढेको यो चिकित्सालय बिरामीका लागि वरदान नै साबित भएको छ।
सरकारले नै यसको प्रवद्र्धन गर्न सक्यो भने थप महत्व बढ्न सक्ने देखिन्छ। “सम्भवतः नेपालमा नै सबैभन्दा ठूलो र नेतृत्वदायी भूमिका खेल्ने प्राकृतिक चिकित्सालय यही नै हुनेछ,” चिकित्सालय सञ्चालक समितिका सचिव प्रदीपराज घिमिरेले भन्नुभयो।