लक्ष्मण पौडेल
भैरहवा, फागुन २१ गते। जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पको अनुगमन गरेको छ। पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित पाँच वटा पम्पमा आइतबार समितिले अनुगमन गरेको हो। अनुगमनका क्रममा मापदण्ड विपरीत तेल बिक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँको लम्साल आयल सप्लायर्समा सिल गरिएको छ।
उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहे पनि ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय, बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिनुभयो।
‘‘कसैले पनि घाटा खाएर तेल बिक्री गर्दैन। तर लम्साल आलयले उपभोक्तालाई बढी मात्रामा तेल बिक्री गरेको पाइयो। अनुगमन समिति आएको थाहा पाएपछि मेसिन मिलाउने क्रममा यस्तो गरेको हुनसक्छ’’, उहाँले भन्नुभयो, ‘‘यही कारण अनुसन्धानका लागि हामीले पम्प सिल गरेका हौँ।’’
उहाँका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर बिक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ।
जिल्ला अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा चारवटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको जानकारी दिनुभयो। उहाँले तीन दिनभित्र सञ्चालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय, बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको बताउनुभयो। ‘‘पम्प सिल गरेर अनुसन्धान सुरु गरेका छौँ, नियमतबस सञ्चालकले तेल घटीबढी गरेको पाइए कारबाही हुन्छ’’, उहाँले भन्नुभयो।
अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिब्युटर्स, लुम्बिनी डिजल सेन्टर र एस.के. डिजल सेन्टरमा अनुगमन गरेको थियो।
उहाँले उपभोक्तामाथि खेलबाड गर्ने जुनसुकै पम्पलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो। अनुगमनका क्रममा समितिले पम्पले बिक्री गरिरहेको तेलको परिणाम, मेसिनको अवस्थालगायत जाँच गरेको थियो।
अनुगमन समितिमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयका साथै लुम्बिनी प्रदेशको उपभोक्तारहित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्यामु अर्याल, घरेलु कार्यालयका प्रतिनिधि, नापतौलका प्राविधिकलगायतको सहभागिता थियो।