• १३ साउन २०८१, आइतबार

सबै माओवादी घटकलाई एकताबद्ध हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

blog

‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भँगालाहरू तिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ती सबै भँगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।’’


उहाँले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनुभयो । विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरू समेटेको भन्दै एकअर्काका अनुभवलाई आफ्नै अनुभवको रूपमा लिएर एकताबद्ध हुनुपर्ने धारणा प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताउनुभयो ।

‘‘हामी सबैले सबैका अनुभवलाई, मैले भन्ने गरेको छु अहिले यहाँ बाबुरामजीले हासिल गरेका अनुभवहरू, विप्लवजीले हासिल गरेका अनुभवहरू, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरू यी सबैलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा ती सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ ।,’’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यति शक्तिशाली हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन । मैले विप्लवजीसँग कुरा गर्दा बडो गम्भीरताका साथ भनेको छु हामी तपाईँले हासिल गरेका सफलता, या तपाईँले अनुभव गरेका तीतामीठा ती सबै मेरा पनि हुन् । मैले जे अनुभव गरिराखेको छु यो ठाउँमा बसेर त्यहाँ भएका तीतामीठा राम्रा नराम्रा तपाईँका पनि हुन् ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘हाम्रा सबैका साझा अनुभव, यसलाई तैँले र मैले भन्ने ढङ्गले नहेरी हामी आन्दोलनको प्रवाहको क्रममा, विकासको क्रममा विभिन्न भँगालामा गए पनि अब फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भनेर महसुस गर्‍यौँ भने सबै अनुभवलाई आफ्नो अनुभवको रूपमा, सबै शहीदलाई जनताका शहीदको रूपमा सम्मान गर्ने उदात्त विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले नि रोक्न सक्दैन भन्ने मेरो बुझाइ छ ।’’


प्रधानमन्त्री प्रचण्डले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताउनुभयो । उहाँले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीका विरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने धारणा औँल्याउनुभयो । आफूहरू एक हुनु नै शहीद र बेपत्ता योद्धाहरूप्रति इमान्दार भएको ठहरिनु हुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न खाले दबाब र घेराबन्दीविरुद्ध म लडिराखेको छु भन्ने छ मलाई र  मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरू पनि लडिराख्नु भएकै देख्छु अचेल । पहिलेजस्तो छैन घटनाक्रमहरू । सबै आ–आफ्नै ढङ्गले हामी लडिराखेकै छौँ । हामी सबै लडाइँ लडिराखेका शक्तिहरू एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामीले शहीद, बेपत्ता योद्धाका सपनाहरूप्रति इमान्दार भएको ठहरिन्छ ।’’

उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरूको नाम राजपत्रमा प्रकाशित गर्नेलगायतका निर्णयहरू गराउन सफल भएको बताउनुभयो ।