• १२ मंसिर २०८१, बुधबार

कृषकलाई निःशुल्क माटो परीक्षणको सुविधा

blog

अमरराज नहर्की

तनहुँ, फागुन २१ गते । तनहुँको म्याग्दे गाउँपालिकाका कृषकले स्थानीय स्तरमै माटाे परीक्षणको सुविधा पाउने भएका छन् । पोखराबाट प्राविधिक बोलाएर म्याग्दे गाउँपालिकाले निःशुल्क माटो परिक्षण गर्ने भएपछि कृषकलाई सहज हुने भएको हो । 

कृषि उपजलाई बढाउँदै माटोको अवस्था अनुसारको उत्पादन गर्न तथा माटोको उपचार गर्नका लागि माटोको परीक्षण शिविर गर्ने निर्णय गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । कृषिमा आधुनिकीकरण, किसानको हितको लागि, माटोमा समस्या समाधान देखिएको, उब्जाउ घट्दै गएको, माटोको परीक्षण माटो परीक्षण शिविरमा गरिएको उहाँले जानकारि दिनुभयो ।  

गाउँपालिकाले कुन माटोमा कुन खेती हुन्छ भनेर सल्लाह सुझाव दिनका लागि माटोको परीक्षण शिविर गरिएको र त्यसबाट लाभ लिन कृषकलाई आग्रह गरेको छ । माटोको परीक्षण बिनै अन्नबाली, तरकारी तथा फलफूल खेती गर्दा किसानलाई ठूलो नोक्सानी हुने र यसबाट जोगाउन माटो परीक्षण शिविर गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ  । 

माटोको परीक्षणपछि कुन मल कति मात्रामा प्रयोग गर्दा स्वच्छ कृषि उपज उत्पादन हुन्छ भन्ने कृषकलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधिसमेत सिकाइनेछ । अहिले माटोमा आउने विभिन्न समस्याका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि माटो परीक्षणको व्यवस्था गर्नका लागि शिविर गरिएको शाखाका प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो । 

"कृषकलाई आफ्नो खेतबारीको माटोको अवस्था कस्तो छ, आवश्यक खाद्य तत्व पुगेको छ वा छैन, माटो अम्लीय वा क्षारीय छ भन्ने कुराको शिविरमा जानकारी गराउँछौं", घिमिरेले भन्नुभयो । कुन माटोमा के उब्जाउ गर्दा राम्रो हुन्छ तथा माटोको स्वास्थ्य कस्तो छ लगायतको बारेमा कृषकलाई जानकारी दिइने उहाँले बताउनुभयो ।

माटोको खाद्य तत्व, अम्लीयपन र माटोको समस्याका विषयमा माटोको परीक्षणपछि मात्रै पत्ता लाग्ने भएकाले माटो परीक्षण प्रयोगशाला जरुरी पर्दछ । 

यस्तै, फागुन २५ गते निःशुल्क माटो परीक्षण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष ०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग शिविर गर्न लागिएको हो । जथाभावी रासायनिक मलको प्रयोग तथा चाहिनेभन्दा कम तथा धेरै प्रयोग गर्नाले बालीलाई नकारात्मक असर पर्न गई उत्पादकत्व पनि घट्न जाने हुँदा यसको सन्तुलित प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी दिइनेछ । 

शिविर वडा ३ को गणेश आमा समूहको भवनका गरिने भएको छ ।