• ४ पुस २०८१, बिहिबार

नारायणगढ–मुग्लिन सडक खण्ड : दिउँसो बन्द नहुने

blog

चितवन,  फागुन २१ गते । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम  बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो ।


भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ बजेबाट ४ बजेसम्म सडक बन्द गरिएको थियो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी ई. कृष्ण आचार्यका अनुसार सवारी रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाड बाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको भित्तोलाई विस्फाेट  गराउन लागिएको जनाइएको छ । 

तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा  छ ।  सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ ।  यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो ।

आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फाेट गराउन अनुमति लिने प्रक्रियामा छ । अनुमति पाएसँगै एक महिनामा विस्फाेटक पदार्थ झिकाएर विस्फाेट  गराउने तयारी आयोजनाले गरेको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।  रासस